कांग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

हिमाल प्रेस १३ असोज २०८१ १७:५०
2
SHARE
कांग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसका संघीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले यही असोज ११ र १२ गतेको अरिवल वर्षाका कारण भएको बाढी र पहिरोबाट भएको अकल्पनीय जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकारमार्फत प्रदान गर्ने निर्णय गरेको हो।

स‌ंघीय सांसदकाे १५ दिनकाे पारिश्रमिकका साथै पार्टीकाे तर्फबाट रू. पचास लाख सरकारकाे काेषामा हस्तान्तरण गर्ने बैठकले निर्णय गरेकाे छ।

बैठकले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । यस्तै प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बुढानिलकण्ठस्थित उहाँको निवासमा बसेको बैठकले देशभरि क्षतिग्रस्त सडक, पुल, विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकीलगायत अति आवश्यक पूर्वाधार यथाशीघ्र पुनःनिर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

यस्तै, बैठकले बाढी पहिरोमा परी घरबारविहीन भएकाहरूको यथाशीघ्र उचित पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। साथै संघीय संसद्का सबै सदस्यलाई विपद् व्यवस्थापनमा आ–आफ्नो स्थानबाट सहयोग पुर्‍याउन आह्वान गरिएको उनले बताए।

प्राकृतिक प्रकोपले कैयन ठूला तथा साना सडकहरू अवरूद्ध भएकाले तत्काल सञ्चालनका लागि गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएको छ।

अवरूद्ध सडकहरूको मर्मत सम्भारको कार्य तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने भएकाले बेलिब्रिज जडान गर्न कांग्रेसको बैठकले सरकारको ध्यानाकर्षण गराएको हो।

त्यस्तै प्रकोपका कारण विद्युत र सञ्चार सेवा अवरूद्ध भएकाले अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रूपले परिचालन गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ।

विषम परिस्थितिमा कालोबजारी बढ्नसक्ने भन्दै कांग्रेस बैठकले कालोबजारी, सवारी साधनको भाडामा हुने अनिमितता नियन्त्रण गर्न/गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेसले यसअघि घोषणा गरेको पार्टीको ‘१०० दिने विशेष अभियान’ तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। मुलुकमा आएको प्राकृतिक विपद्लाई मध्यनजर गरी असोज ३० सम्म यो कार्यक्रम स्थगित भएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

त्यस्तै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना हुँदै आएको चियापान कार्यक्रम पनि कांग्रेसले स्थगित गर्ने निर्णय गरेको छ।

 

 

प्रकाशित: १३ असोज २०८१ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =