मृतक आमाबुबाको काखबाट बालकको उद्धार गर्दा…

सत्रुधनकुमार महतो १३ असोज २०८१ २१:१७ | Sunday, September 29, 2024
मृतक आमाबुबाको काखबाट बालकको उद्धार गर्दा…

शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय दोलखामा खबर आयो- भीमेश्वर नगरपालिका-६, मैदाने वस्तीमा पहिरो जान लागेको छ भनेर। उद्धारका लागि बढी नै जोखिमपूर्ण ठाउँ हो त्यो। हामीले छलफल गरेर वस्ती नै खाली गर्ने निष्कर्षमा पुग्यौँ। मेरो कमान्डमा १२ जनाको टोली बस्तीमा पुग्यो।

घटनास्थलमा रुखहरू लडिरहेका थिए। घर भत्किएका थिए। इँटाले पुरेको थियो घर। त्यहीँभित्र प्लाई थियो। एक जना बच्चाको शव देखियो। त्यो शव निकालेर पठाइदियौँ। बस्ती सार्न भनेर हिँडेका हामी घरले थिचेका मानिसको उद्धारमा व्यस्त भयौँ।

अर्कोतिर बच्चा रोएको आवाज सुनियो। पुरिएका सामान हटायौँ। घर रुखले किचेको थियो। हामीले बच्चालाई असर नगरोस् भन्ने तबरले नै पन्छायौँ। बच्चा जोखिममा छ हामीले सावधानी अपनाउनुपर्छ भनेर काम गर्‍यौँ। रूखका मुढा हटायौँ। भग्नावेशषहरुलाई पन्छायौँ।

हामीले त्यहाँ  एउटा बच्चा र उसका बाआमा  तीनैजना देख्यौँ। बच्चा जसलाई हामीले बचायौँ उनलाई आमाले काखमा च्यापेकी थिइन्। त्यसपछि त्यहाँभित्र म छिरेँ। अनि बच्चालाई निकालेँ।

मैले मेरो ड्युटी पूरा गरैँ। नेपाल प्रहरीको ड्युटी पूरा गरेँ। बच्चा उसका आफन्तलाई जिम्मा लगाएका छौँ। बच्चा एकदम ठिक छ। उसलाई केही चोटपटक छैन। उसका बाआमा (राजकुमार भुजेल, राधा) र दाजु (रोशन) को पहिल्यै निधन भइसकेको रहेछ। उनीहरुलाई बचाउन सकेनौँ।

हामी अझै पनि जिल्लाका अन्य ठाउँमा पनि उद्धारका काम गरिरहेका छौँ। जिल्ला प्रहरी कार्यालयबाट बच्चाको घर चार किलोमिटर टाढाको हो। बच्चाको उमेर दुई वर्ष चार महिनाको रहेछ।

[महतो जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी निरीक्षक हुन्।]

प्रकाशित: १३ असोज २०८१ २१:१७ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast