सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली आज पोखरा जाँदै

हिमाल प्रेस ८ असोज २०८१ १३:२२
24
SHARES
सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली आज पोखरा जाँदै सीआईबी

काठमाडौँ- बचतकर्तको अर्बौँ रकम हिनामिना भएको सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अधिकृतको टोली पोखरा जाने भएको छ। सहकारीको पुरक जाहेरीको अनुसन्धान प्रतिवेदन तयार भइरहँदा सीआईबीको टोली पोखरा जाने भएको हो।

सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले टोली खटाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए। सोहीअनुसार काम सुरु भएको पनि थियो। तर पछि सत्तागठबन्धन फेरबदल भएसँगै गृहमन्त्री बनेर सोही सहकारीको ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै सीआईबीको टोली पोखराबाट फिर्ता भएको थियो।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा सूर्यदर्शन सहकारीको अनुसन्धान सीआईबीबाटै हुनुपर्ने भनेर टोली खटाइएको थियो। टोलीले काम पनि सुरु गरिसकेको थियो,’सीआईबीका एक अधिकारीले भने, ‘पछि गृहमन्त्री बनेर रवि लामिछाने आएपछि यसको अनुसन्धान रोकिएको थियो। सीआईबीले मात्रै नभई जिप्रका कास्कीले पनि यसको अनुसन्धान बिचैमा छोडेको थियो। अहिले फेरि अहिलेका गृहमन्त्रीकै निर्देशनमा अनुसन्धान सुरु हुँदैछ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी मोहन थापाले सीआईबीको टोली आज मंगलबार साँझसम्म पोखरा आइपुग्ने बताए। ‘सीआईबीले अनुसन्धानमा सहयोग गर्न दुईजना अनुसन्धान अधिकृत खटाइसकेको छ,’ उनले भने, ‘उहाँहरू आजै साँझसम्म आइपुग्नुहुनेछ।’

अहिले संसदीय विशेष छानबिन समितिको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएसँगै अनुसन्धान सुरु भएको ति अधिकारीले बताए।

यही सहकारीको ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की प्रहरीले असोज ६ गते काठमाडौँबाट पक्राउ गरिसकेको छ। उनलाई हिजो सोमबार अदालतबाट पाँचदिनको म्याद लिएर थप अनुसन्धान पनि प्रहरीले सुरु गरिसकेको बताएको छ। जोशी गोर्खा मिडियाको सञ्चालक पनि हुन्। कास्की प्रहरीले जोशीको बयान लिन सुरु गरिसकेको छ। रवि लामिछाने पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए।

रवि लामिछानेलाई पनि पक्राउको तयारी भनिए पनि उनी अझै पक्राउ परेका छैनन्।सहकारी छानबिन समितिले लामिछानेले सहकारीबाट रकम नल्याएको तर सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेकोले कारबाहीको लागि सिफारिस गरेको थियो। सोही सहकारीको ठगी प्रकरणका मुख्य आरोपी जीबी राई भने अझै फरार छन्। उनी गोर्खा मिडियाका अध्यक्ष पनि हुन्। उनीहरूका अर्का साझेदार कुमार रम्तेल भने यसअघि नै पक्राउ परिसकेका छन्।

सीआईबीले यसको थप अनुसन्धान गरेर पुरक प्रतिवेदन गृहलाई बुझाउनेछ।

प्रकाशित: ८ असोज २०८१ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =