किन पक्राउ परे परराष्ट्रका सहसचिव भट्टराई?

हिमाल प्रेस १८ साउन २०८३ १८:०४ | Monday, August 3, 2026
32
SHARES
किन पक्राउ परे परराष्ट्रका सहसचिव भट्टराई?

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टराईलाई सोमबार काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले भट्टराईलाई राहादानी ऐनअन्तर्गतको कसुरमा नियन्त्रणमा लिएको जानकारी दिए।

‘राहादानीसम्बन्धी कसुरमा उहाँलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएका हौँ,’ एसएसपी जबराले भने,‘दिन नमिल्ने कागजात उहाँले दिएको अनुसन्धानबाट खुलेको थियो।’

सहसचिव भट्टराईले तिब्बती शरणार्थीलाई ‘ट्राभेल डकुमेन्ट्स’ दिएको सीआईबीको अनुसन्धानबाट खुलेको एसएसपी जबराले जानकारी दिए।

‘जर्मन एम्बेसीमा पेस गर्न उहाँले तिब्बती शरणार्थीलाई ट्राभेल डकुमेन्ट्स दिएको सम्बन्धमा सीआईबीले अनुसन्धान गरेको थियो,’ उनले भने,‘फरार प्रतिबादी हुनुहुन्थ्यो, आज पक्राउ गरेका हौँ।’

प्रहरीका अनुसार भट्टराईले २०६८ सालमा राहदानी ऐनविपरितको कसुर गरेको अनुसन्धानबाट खुलेको थियो। भट्टराईले तीन जना तीब्बतीहरूलाई नक्कली शरणार्थी बनाएर जर्मन पठाउन खोजेको अनुसन्धानबाट खुलेको थियो।

काठमाडौँस्थित जर्मन दूतावासले २८ असार २०६८ मा सीआईबीमा पत्र पठाएर ‘ट्राभेल डकुमेन्ट’ बारे अनुसन्धान गर्न आग्रह गरेको थियो। उनीविरूद्ध २०८२ चैतमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो।

प्रकाशित: १८ साउन २०८३ १८:०४ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast