गुल्मीको निहुरो काठमाडौँमा, एक मुठाको ५० रुपैयाँ

हिमाल प्रेस ८ असोज २०८१ ११:४०
22
SHARES
गुल्मीको निहुरो काठमाडौँमा, एक मुठाको ५० रुपैयाँ

गुल्मी- जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन्। भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ। उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ।

वर्षात्का समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जंगल र पाखामा निहुरो टिपेर बित्ने गर्छ। जिल्लाको पश्चिमी भेगका जंगल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ। दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन्।

उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन्। गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जंगलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्‍याएको छ।

जंगललबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन्। उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जंगलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन्।

उनीहरूले जंगलबाट टिपेर ल्याएको निहुरोलाई स–साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्‍याउँछन्। एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन्। यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्‍याउँदा साना मुठाको ३० देखि ठूला मुठाको ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका–५ की चन्द्रकली कुमाल बताउँछिन्।

चन्द्रकलीमात्र होइन, उनीजस्तै जंगलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुगेकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउँछिन्।

उनले भने,‘घर खर्च चलाउन ठूलो राहत पुगेको छ।’ बर्खाको समयमा जंगलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्‍याउन त्यति सहज भने छैन। तर पनि उनीहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जंगलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन्।

निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले २० देखि ३० हजारसम्म आम्दानी गर्छन्। सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन्। आजभोलि कोसेलीका रुपमा समेत निहुरो बढी मात्रमा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ।

प्रकाशित: ८ असोज २०८१ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =