‘उपसभापति गुरुङमाथि छानबिन सुरू भइसक्यो दोषी देखिए जेल जानुहुन्छ’

हिमाल प्रेस ५ असोज २०८१ १९:०८
28
SHARES
‘उपसभापति गुरुङमाथि छानबिन सुरू भइसक्यो दोषी देखिए जेल जानुहुन्छ’

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङमाथि छानबिन सुरू भएको बताएका छन्।

शनिबार कांग्रेस–झापा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उपसभापति गुरुङमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले छानबिन सुरू गरेको बताएका हुन्।

छानबिनमा दोषी पाइए गुरुङमाथि कानुनबमोजिम कारबाही हुने उनको भनाइ थियो।

‘धनराज गुरुङमाथि सीआईबीले छानबिन सुरू गरिसकेको छ। छानबिन गर्दैगर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ, दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ,’ शर्माले भने।

पार्टी उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप लागेपछि आफ्नो पार्टीले छानबिन प्रक्रियालाई अवरोध नगरेको उनले बताए। शर्माले भने, ‘नयाँ दलले हाम्रो सभापतिमाथि छानबिन गर्न पाइँदैन भन्यो, पुरानो दलको उपसभापति गूरुङ आफैँ सदनमा उभिएर ममाथि छानबिन गर भन्नुभयो। छानबिन प्रक्रिया सुरू भएको छ।’

कांग्रेस उपसभापति गुरुङ ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएका छन्। उनकी पूर्वपत्नी ज्योति गुरुङले यो सहकारीबाट १२ करोड ५० लाख रूपैयाँ अपचलन गरेको आरोप लागेको छ।

फरक प्रसङ्गमा महामन्त्री शर्माले २०८४ को निर्वाचनपछि दोस्रो र तेस्रो ठूलो दलले सरकार गठन गर्न नपाउने प्रावधान राखेर संविधान संशोधन हुन आवश्यक रहेको बताए।

बढी लोकप्रीय मत ल्याउने दललाई सरकार गठन गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

पार्टी कार्यकर्तामा आएको निराशा चिर्न आवश्यक रहेको बताउँदै शर्माले नेपालमा केही भएको छैन भन्ने नभई, केही भएको छ, केही अझै गर्न बाँकी भनेर बुझाउन जरूरी रहेको उल्लेख गरे।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलकाबीचमा एक अर्कालाई दोषारोपण गर्नेभन्दा सहयोगी भावना गर्नेतिर ल्याउन आवश्यक रहेको बताए।

प्रकाशित: ५ असोज २०८१ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =