काठमाडौँ- सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान संशोधनको माग राख्दै काठमाडौँमा प्रदर्शन गरेको छ। संविधान दिवसको अवसर पारेर जनमत पार्टीले बिहीबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।
जनमत पार्टीले पूर्ण अधिकार सम्पन्न स्वायत्त प्रदेश स्थापना, प्रदेशको सीमाङ्कन सच्याउन, भाषिक तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था, सामाजिक लोकतन्त्र कायम गर्नुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले प्रदर्शन गरेको हो।
सरकारले संविधान संशोधनको तयारी गरिरहेका बेला दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरिएको जनमत पार्टीका प्रवक्ता शरतसिंह यादवले जानकारी दिए।
यसअघि जनमत पार्टीका अध्यक्ष राउतले संविधान दिवसको अवसरमा शान्तिपूर्ण ¥याली निकालेर संविधान संशोधनको माग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।
जनमत पार्टीले राजधानी काठमाडौँका साथै प्रदेशहरूमा समेत संविधान संशोधनको माग राख्दै शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको प्रवक्ता यादवले बताए। संघीय सरकारलाई समर्थन गरेको जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ।