सबै राजनीतिक दल सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

हिमाल प्रेस १ असोज २०८१ १५:४९ | Tuesday, September 17, 2024
सबै राजनीतिक दल सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्छ : पर्यटनमन्त्री पाण्डे पर्यटनमन्त्री बद्री पाण्डे । फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउन दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने बताए। मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएपछि समाधानका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले पनि यस्तो वेला सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

उनले सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए। सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ थियो।

‘नेकपा (एमाले) एक ठाउँमा उभिनुका पछाडि यो स्वभाविकता र सहजता छैन। तर हामीले देशको जुन अप्ठ्यारो र जटिलता देख्यौं। हामी एक ठाउँमा उभिन तयार भयौँ,’ उनले भने,’एक ठाउँमा उभिएर हामी समाधान दिन चाहन्छौं। यसमा माओवादी‚ समाजवादी‚ लोसपा, जसपा, राप्रपा, रास्वपा सबैलाई जोडेर काम गर्न चाहन्छौं। हामी सबै मिलेर पहिले देश बचाऔं। देश बचाएपछि मात्रै हाम्रो राजनीति बच्छ। हाम्रो व्यवसाय बच्छ। सबै कुरा बच्छ।’

मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवर्धनमा सरकार सदैव प्रतिबद्ध रहेको पनि बताए। त्यस अवसरमा उनले मर्यादामा रहेर काम गर्न पर्यटन व्यवसायीहरूलाई सचेत पनि गराए।

प्रकाशित: १ असोज २०८१ १५:४९ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast