विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

हिमाल प्रेस २८ भदौ २०८१ १९:११
14
SHARES
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

पोखरा- गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई रजिस्ट्रार नियुक्त गरेको हो।

गण्डकीको पहिलो प्रेस रजिष्ट्रार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए।

छनोट समितिका सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालले उक्त पदका लागि ५ जनाको दरखास्त परेको बताए। जसमा भण्डारीसहित भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी, सरिता तिम्सिना पगेनी प्रतिस्पर्धी थिए।

उम्मेदवारीको केही दिनअघि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्ता भएको थियो। तीमध्ये छनोट समितिले नाम मन्त्रिपरिषद्मा निर्णयार्थ पठाएको थियो।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिमा विज्ञ सदस्यको रूपमा अग्रज पत्रकार रवीन्द्र बास्तोला समेत थिए।

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गरिएको हो। कानुनमा प्रेस रजिष्ट्रारका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको, मान्यताप्राप्त विश्वविद्यालयबाट पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानुनमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह हासिल गरेको, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानुनमध्ये कुनै एक विषयमा कम्तीमा १५ वर्षको अनुभव भएको लगायत योग्यता तोकिएको थियो।

प्रकाशित: २८ भदौ २०८१ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =