काठमाडौँ- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधनप्रति नेपालका राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गरेका छन्।
उनीहरूले येचुरीको नेपालको प्रजातन्त्रिक आन्दोलनप्रतिको दृढ समर्थन र सद्भावको स्मरण गर्दै उनको निधनबाट नेपालले असल मित्र गुमाएको बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले येचुरीको निधनले कम्युनिस्ट आन्दोलनको प्रमुख नेता एवं असल मित्र गुमेको बताएका छन्।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल–भारत सम्बन्ध र नेपालको लोकतान्त्रिक आन्दोलनमा येचुरीले लगाएको गुन अविस्मरणीय रहने बताए। उनले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने भारतका वामपन्थी र अन्य राजनीतिक दललाई नेपालको राजनीतिक आन्दोलनको विकासमा सद्भाव र समर्थन जुटाउने विषयमा येचुरीको विशिष्ट योगदान छ।’
येचुरीसँग काठमाडौँ र नयाँदिल्लीमा पटकपटक भेट गरेको स्मरण गर्दै सिटौलाले भने, ‘नेपालको प्रजातन्त्रिक आन्दोलनमा सधैँ सद्भाव राख्ने र समर्थन जनाउने वामपन्थी नेताका रुपमा मैले चिनेको छु।’
वरिष्ठ कम्युनिस्ट नेता वामदेव गौतमले नेपाल र नेपाली जनतालाई नजिकबाट चिन्ने तथा नेपाली कम्युनिस्ट आन्दोलनमा सदा सहानुभूति राख्ने नेताको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनका निम्ति ठूलो क्षति भएको बताए।
गौतमले भने, ‘नेपालको राष्ट्रियता बलियो बनाउने तथा यहाँ प्रजातन्त्रिक प्रणाली विकास गर्ने पक्षमा उहाँको बलियो समर्थन थियो।’ आन्दोलनका क्रममा येचुरीको सहयोग लिएको र नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि महासचिव येचुरी स्वयं यहीँ आएर नेपाली जनतामाझ शुभकामना व्यक्त गरेको गौतमले स्मरण गरे।
नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कार्कीले नेपाल र नेपाली जनतालाई निकै नजिकबाट बुझेको व्यक्तित्वको निधनबाट नेपालले असल मित्र गुमाएको बताए। उनले भने, ‘नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन पनि येचुरीले विशेष भूमिका खेल्नुभएको थियो।’ ७२ वर्षीय येचुरीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो।