उपसभामुखलाई कारबाही गर्न खोजे प्रतिकार गर्ने रास्वपाको चेतावनी

हिमाल प्रेस २७ भदौ २०८१ १५:०४
14
SHARES
उपसभामुखलाई कारबाही गर्न खोजे प्रतिकार गर्ने रास्वपाको चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेताहरू। तस्बिर : हिमालप्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरलाई कारबाही गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। पार्टीले बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता मनीष झाले भने, ‘अहिले हामी प्रतिकारको स्वरुप सार्वजनिक गर्दैनौँ तर कारबाही गर्न खोजे प्रतिकार गर्नेछौँ।’

रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद निर्वाचित भएर उपसभामुख भएकी हुन्। यद्यपि उनले उपसभामुख निर्वाचित भएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। उपसभामुखमाथि कारबाही गर्न खोजे प्रतिकार गरिने विषयमा पार्टीमा छलफल अगाडि बढाइने सहप्रवक्ता झाले बताए।

उपसभामुख रानामगरले पदीय आचरणविपरीत काम गरेको आरोप कांग्रेस र एमालेले लगाएका छन्। सदनमा पनि रानामगरले राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। एमाले सांसदले रानामगरले राजीनामा दिनुपर्ने बताएका छन्। यसैगरी कांग्रेसले विवादमा तानिएकाले मार्गप्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेको छ।

साउन पहिलो साता उपसभामुख रानामगरले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पत्र सार्वजनिक भएको थियो।

पत्र सार्वजनिक भएलगत्तै विभन्न राजनीतिक दलका नेताहरूले प्रश्न उठाएका थिए। केही साता बीचमा यो विषय त्यसै सेलाएको थियो। सार्वजनिक पत्रअनुसार उपसभामुख रानाले भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन आग्रह गरेकी छिन्। उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने उक्त पत्रमा खुलाएकी थिइनन्।

पत्रका विषयमा प्रश्न उठेपछि उपसभामुख रानाले दूतावासलाई आफूले पत्र लेखेको स्वीकार गरेकी थिइन्। आफ्नो गलत नियत नरहेको प्रस्टीकरण पनि दिएकी थिइन्।

यस्तो प्रस्टीकरणले नहुने भन्दै एमाले र कांग्रेसले राजीनामा मागेका हुन्। उपसभामुख रानाले उक्त पत्र लेख्नुलाई पदको दुरुपयोग गरेको रुपमा व्याख्या गरिएको छ।

अब पनि उपसभामुखले राजीनामा नदिए संसदीय प्रक्रियाअनुसार पदमुक्त गर्ने कांग्रेस र एमालेका नेताहरूले बताएका छन्।

प्रकाशित: २७ भदौ २०८१ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast