 
                             
                                            इटहरी- कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशनको घोषणा गरेसँगै मोरङका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरे।
‘…२०८१/०५/२५ गते ३ बजेदेखि अर्को आदेश नभएसम्मको लागि निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ ।
पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि घ०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरड डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरिएको छ।
पूर्वमुख्यमन्त्री कार्कीले आज अपराह्नदेखि प्रदेश सरकारविरुद्ध आमरण अनशनमा बस्ने घोषणा गरेका छन्।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 