संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : प्रचण्ड

हिमाल प्रेस २५ भदौ २०८१ ११:११
6
SHARES
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन्।

नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए।

विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रूपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए।

संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्पूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए।

‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ’, उनले भने, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दैे त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए।

प्रकाशित: २५ भदौ २०८१ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =