काठमाडौँ- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान नियन्त्रणमा लिएको छ। १.३ करोड डलरमा अवैध रूपमा खरिद गरिएको विमान देश बाहिर लगिएको भन्दै अमेरिकाले राष्ट्रपति मादुरोको विमान नियन्त्रणमा लिएको हो।
अमेरिकाको न्याय विभागले जनाएअनुसार फाल्कन ९०० ईएक्स विमानलाई डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा ल्याइएको हो।
यद्यपि यो विमान डोमिनिकन रिपब्लिक कहिले पुग्यो यसबारे प्रस्ट हुन सकेको छैन। ट्र्याकिङ डेटाका अनुसार सोमबार राजधानी सैन्टो डोमिन्गोस्थित विमानस्थलबाट उडान भरेपछि विमान फ्लोरिडा पुगेको थियो।
भेनेजुएलाले अमेरिकाले विमान नियन्त्रणमा लिएको कार्यलाई विरोध गर्दै यसलाई ‘डकैती’ जस्तो काम भनेको छ।
भेनेजुएला सरकारले विमान कब्जामा लिएपछि यसबाट भोग्नुपरेको क्षतिका लागि कानुनी उपचार खोज्ने बताएको छ। अमेरिकी ‘एक्सपोर्ट कन्ट्रोल’ र कानुन उल्लंघन गरेको आशंकामा विमानलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
मादुरो निकटस्थ व्यक्तिहरूले सन् २००३–२०२३ का बीच अवैध तरिकाले विमान खरिद गर्न कैरेबियन सेल कम्पनीको सहयोग लिएको थियो। विमान खरिद गरिएको कम्पनी फ्लोरिडाको भएको अमेरिकी अधिकारीहरूको भनाइ छ।
अप्रिल २०२३ मा यो विमानलाई अवैध तरिकाबाट भेनेजुएला लगिएको थियो। गत जुलाईमा मादुरोले आम चुनाव जितेपछि पश्चिमी मुलुकहरूसँग तनाव बढेको छ। चुनावमा धाँधली भएको अमेरिकाले आरोप लगाएको छ।