एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बन्ने व्यवस्था अन्त्य गर्नुपर्छ : महामन्त्री शर्मा

हिमाल प्रेस १५ भदौ २०८१ १५:४०
8
SHARES
एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बन्ने व्यवस्था अन्त्य गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पटक–पटक प्रधानमन्त्री बन्ने प्रावधान हटाउनुपर्ने आफ्नो अडान दोहोर्‍याएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा शर्माले एउटै व्यक्ति पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री बन्दा गलत सन्देश गइरहेकाले यो प्रावधान हटाउनुपर्ने बताए।

महामन्त्री शर्माले महासमिति बैठकमार्फत व्यक्ति बहिर्गमन (एक्जिट पोलिसी) सम्बन्धी प्रस्ताव ल्याएका छन्। उनको यो प्रस्तावमाथि कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल चलिरहेको छ।

शर्माले नयाँ र ताजा अनुहारलाई नेतृत्वमा ल्याउन आफूले यो प्रस्ताव अघि सारेको जिकिर गरे। उनले भने,‘मैले एउटा पोलिसी प्रस्ताव गरेको छु। कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा केवल एकपटक मात्रै बनाउनुपर्छ।’

प्रधानमन्त्री पनि धेरै पटक बन्ने सुन्नुपर्ने दिनको अन्त्य गर्नुपर्ने उनको भनाइ छ। जतिसुकै लोकप्रिय व्यक्ति भए पनि दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने व्यवस्था गर्नुपर्ने शर्माले बताए।

महामन्त्री शर्माले आफूले यो प्रस्ताव ल्याएपछि कांग्रेसभित्र समस्या र विवाद भइरहेको सुनाए। अहिले नै पार्टीले दृष्टिकोण नबनाए पनि उपयुक्त समयमा छलफल गर्नेगरी अघि बढिने उनले बताए।

महामन्त्री शर्माले ल्याएको यो प्रस्तावमाथि आइतबार बस्ने केन्द्रीय समिति बैठकमा पुनः छलफल हुने बताइएको छ। उनको प्रस्ताव केन्द्रीय समितिबाट पारित नगर्ने लगभग निश्चित भइसकेको छ।

प्रकाशित: १५ भदौ २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast