महामन्त्रीद्वयले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्छ : निधि

हिमाल प्रेस १४ भदौ २०८१ २०:२५
2
SHARE
महामन्त्रीद्वयले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्छ : निधि

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीका महामन्त्रीहरूले महासमिति बैठकमा ल्याएको प्रस्तावको औचित्य नभएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन्।

शुक्रबार नेपाल स्वास्थ्यकर्मी संघ जनकपुरधाम उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै निधिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका हुन्।

चुनावअघि गठबन्धन नगर्ने, व्यक्ति बहिर्गमन (एक्जिट पोलिसी) र १५ औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव महामन्त्रीद्वयले फिर्ता लिनुपर्ने उनको भनाइ छ।

महासमिति बैठकहुँदै अनुमोदनका लागि केन्द्रीय समितिमा आएका यी प्रस्तावहरूमाथि अहिले छलफल चलिरहेको छ। महामन्त्री थापाले चुनावअघि गठबन्धन गर्न नहुने र १५ औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी र महामन्त्री शर्माले ‘एक्जिट पोलिसी’ सम्बन्धी प्रस्ताव ल्याएका हुन्।

नेता निधिले तीनवटै प्रस्तावको आवश्यकता नरहेको र विधानविपरित रहेको उल्लेख गरे। ‘एक्जिट पोलिसी’ सम्बन्धी प्रस्ताव कुनै पनि राजनीतिक दलका लागि उपयुक्त नभएको उनले जिकिर गरे।

निधिले एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्रै सांसद हुन पाउने प्रस्तावले पार्टी बलियो नबन्ने तर्क गरे। अवकाशसम्बन्धी व्यवस्था कर्मचारीलाई मात्र सुहाउने उनको भनाइ छ।

‘राष्ट्रपतिको, प्रधानमन्त्रीको मतदाता सांसद हुन्छन्। सांसदको मतदाता जनता हुन्छन्, देशभरमा पार्टीको जम्मा ८ लाख क्रियाशील सदस्य छन्,’ निधिले भने,‘के कांग्रेसको त्यही ८ लाख सदस्यले प्रधानमन्त्री, राष्ट्रपति र सांसद चुनिन्छन्? पार्टी बाहिरको विषयलाई विधानमा राख्न कुनै जरूरी छैन।’

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका नेताहरूसँग जनमत हुने भएकाले मतदातालाई जोडिराख्न पार्टीमा सबै पुस्ताका मान्छे रहनुपर्ने उनले बताए।

निधिले पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने केन्द्रीय समितिले निर्णय गर्ने विषय रहेकोले यसलाई महासमितिको विषय बनाउन नहुने जिकिर गरे।

त्यस्तै राजनीतिक परिस्थिति र आवश्यकताअनुसार गठबन्धन गर्ने÷नगर्ने निर्णय लिनुपर्ने भएकाले यसलाई पनि विधानमा उल्लेख गर्नु जरूरी नरहको उनले बताए।

प्रकाशित: १४ भदौ २०८१ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast