हैजा नियन्त्रण र रोकथामका लागि तीनै तहसँग समन्वय भइरहेको छ : मन्त्री पौडेल

हिमाल प्रेस १२ भदौ २०८१ २०:१२ | Wednesday, August 28, 2024
हैजा नियन्त्रण र रोकथामका लागि तीनै तहसँग समन्वय भइरहेको छ : मन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हैजा प्रभावित क्षेत्रहरूको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायतका कार्य प्रभावकारी बनाउन तीनै तहका सरकारसँग समन्वय भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारकाे बैठकमा सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’, भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्यामन्त्रीकाे ध्यानाकर्षण गराएकी थिइन्।

उक्त विषयमा मन्त्री पौडेलले ध्यानाकर्षण भएको जनाउँदै हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेका काम र आगामी योजनाकाबारे जानकारी दिएका थिए। उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरेको बताए।

उक्त टोलीले नियमित ‘केस’ अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको बताउँदै मन्त्री पौडेलले पहिलोपटक सातवटै प्रदेशका मन्त्रीहरूबीच हैजा, डेङ्गीलगायत जनस्वास्थ्यका चुनौतीलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने निर्णय गरेको सदनलाई जानकारी गराए।

‘काठमाडौँ उपत्यकाका स्थानीय सरकार प्रमुखहरूसँग हैजा, डेङ्गीलगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदमहरू चाल्नका लागि कार्य गरिएको छ,’ मन्त्री पौडेलले भने। उनले वर्षायाममा देशभर हैजाको जोखिम रहे पनि नयाँ बिरामी नभएको तथा उपचाररत चार जना मात्र रहेको सदनलाई जानकारी दिए।

मन्त्री पौडेलले भने, ‘नेपालमा मनसुनको समयमा देखिने हैजाको हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन। मन्त्रालयले खानेपानी, सरसफाईका गतिविधि तथा १११५ कल सेन्टर संयन्त्रबाट निगरानी गरिरहेकाे छ।’

देशभरमा हाल ६८ जना हैजाबाट संक्रमित भएका छन्। ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र मकवानपुरगरी पाँच जिल्लामा संक्रमण देखिएको छ। प्रस्तावक सांसद कार्कीले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले हैजाको पुनःनिर्मलीकरणका लागि बृहत् कार्ययोजना बनाई लागू गर्न आवश्यक रहेकाे बताएकी थिइन्।

‘यो संक्रमणलाई यथाशीघ्र नियन्त्रण नगरिएमा यसले विकराल महामारीको रुप लिनसक्छ, स्वास्थ्य संकटकाल सृजना गर्नसक्छ। यो आकस्मिकतालाई अवमूल्यन गर्न सकिँदैन,’ सांसद कार्कीले भनिन्, ‘हैजा लागेपछि नियन्त्रण र उपचार मात्र हैन, स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले हैजाको पुनःनिर्मलीकरणका लागि बृहत् कार्ययोजना बनाई लागू गर्न आवश्यक छ।’

प्रतिनिधिसभाको अर्को बैठक भदौ १३ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित: १२ भदौ २०८१ २०:१२ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast