रुन्चे सुमनको ‘कमेडी’ यात्रा

हिमाल प्रेस ११ भदौ २०८१ १३:५२
रुन्चे सुमनको ‘कमेडी’ यात्रा

काठमाडौँ- ‘तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है?’ ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ। आजभन्दा २३-२४ वसन्तअघि गाउँलेहरू शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे। सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-२ बाक्साको ठूलाबारी गाउँ। गाउँभन्दा तल सुसाइरहने दूधकोसी। गाउँको सिरानमा उभिएको बडेमान लिब्जु डाँडा। बाक्सामा भर्खरै एउटा अभियान चलेको थियो, ‘घरमा चर्पी बनाउने, चर्पीमा शौच गरिसकेपछि र खाना खानुअघि साबुन पानीले हात धुने। नङ काट्ने, दाँत माझ्ने।’ यो अभियान बालबालिकामा केन्द्रित थियो।

प्रत्येक साता गाउँको चोकमा केटाकेटी जम्मा पारिन्थ्यो। यी सबै नियम पूरा गर्नेले कापी कलम पाउँथे। त्यही लहरमा साबुनपानीले हात मिचेर, नङ सफा चट पारी, दाँत माझिसकेपछि इँ गर्दै ङ्च्चि दाँत देखाउन पुगेका थिए सुमन कार्की।

उनले पनि कापी कलम पाए।  फुरुङ्ग भए। संकट त त्यतिबेला आइलाग्यो जब अगाडि उभ्याएर उही दिदी (ठूलो बुबाकी छोरी)ले स्वास्थ्य अभियानबारे केही बोल्न लगाइन्।

सुमनलाई सुरुमा त बोल्ने साहस जागेको थियो। सधैँ तँ तँ, म म गर्ने गाउँकै साथीहरूको अघिल्तिर उभिइसकेपछि त सबै पराइझैँ लाग्यो । मुटु चिसो भयो र कोखा घोच्यो। फोक्सोको आकार बढेर छातीभित्र अटेन। शरीर काँप्न थाले। वाक्य बन्द भयो। शरीरमा पसिनाको मूल फुट्यो थाल्यो। अनि एक्कासि भक्कानो छुट्यो। बोल्नुको साटो क्वाँक्वाँ रुन थाले। अनि वक्ताको जिम्मेवारीबाट सुमनले उन्मुक्ति पाए। ‘भयो भयो नरो’, दिदीले भन्नुभयो, ‘तैँले बोल्नु सकिनस्।’

तर यो घटनाले सुमनलाई झन्डै एक साता सतायो। बाख्रा चराउन जाँदासमेत साथीभाइले देख्लान् कि भनेर लुक्नुपर्‍यो। कारण केही थिएन, थियो त केवल साथीभाइले जिस्काउँछन् भन्ने लाज। विद्यालयमा त झन् निहुरिमुन्टीमै केही दिन बित्यो।

हो त्यही सुमन कार्की अहिले युवा पुस्ताका उम्दा हास्यकलाकार (कमेडियन) बनेका छन्। हुन त उनी  ‘करिअर’ को यात्रामै छन्। थाहा छैन शिखरमा पुग्छन् या पुग्दैनन्। तर नेपाली हास्यव्यङ्ग्य क्षेत्रको आधार शिविर टेकिससेका छन्।  दर्शकसामु परिचित भइससेका छन्।

‘म सानो छँदा बुबालाई किन झिसमिसेमै निद्राले छोडेको होला जस्तो लाग्थ्यो’, सुमनले भने, ‘त्यो त जिम्मेवारीले पो रहेछ। अहिले आएर बुझेँ ।’

एक दशकअघिका सुरुवाती दिनमा सुमनलाई आनन्दै थियो। ‘हुन्छ भने हुन्छ, हुँदैन भने केही गरौँला भन्ने लाग्थ्यो। अब त अर्को क्षेत्र रोज्न पनि गाह्रो। ‘करिअर’ को यो चरणमा दवाब महसुस हुने रहेछ। आफूलाई ‘अपग्रेड’ गर्दै यही क्षेत्रमा टिक्नुपर्ने चुनौती छ’ उनी भन्छन्।

सुमनका बुबा बल उमेर हुन्जेल मजदुरीका लागि भारततिर धाइरहन्थे। सुमनलाई पनि बालखैमा केही वर्ष भारत लगे। उताबाट फर्केपछि गाउँकै मनकामना माविमा एकैपटक कक्षा ३ मा भर्ना गरिदिए। खान लाउनै नपुग्ने पहाडका पाखा रेखा छाडेर सुख खोज्दै कक्षा ४ पढिसकेपछि बुबाले मोरङको रतुवामाई नगरपालिका–९ मा बसाइँ सरे।

सुमनका एक दाजु र एक बहिनी छन्। पढाइमा सामान्य सुमनले २०६५ सालमा एलएलसी पास गरे। त्यही १२ सम्म पढे। त्यतिबेला रेडियोको लोकप्रियता धेरै थियो। रेडियोमा फोन गर्ने श्रोतासमेत चर्चित हुन्थे। गाउँमै रेडियो सुनाखरी सञ्चालन हुने तयारीबारे सुनेपछि सुमनको खुट्टा एकै सेकेन्ड भुइँमा अडिएन। रेडियोसम्बन्धी तालिममा सहभागी भए।

तालिम सकिएपछि १० जनाको छनोटमा उनी परेनन्। छनोटमा नपरे पनि उनले रेडियो स्टेसन धाउन छाडेनन्। ‘म त्यत्तिकै धाइरहेँ घरबाट साइकल पेलेर। मलाई विज्ञापनमा बोल्न पो दिहाल्छन् कि, नाटक खेल्न पो दिन्छन् कि भनेर आश लाग्ने नि त’, हालैको एक दिन अनामनगरस्थित मण्डला थियटरमा कफीको चुस्की लिँदै सुमनले विगत स्मरण गरे। ‘रेडियोमा गइरहेपछि सबैले चिन्नुभयो। पछि काम गर्न बोलाउनुभयो।’

त्यसपछिका तीन वर्ष सुनाखरी रेडियोको माइक्रोफोनसँग बित्यो सुमनको। गाउँको रेडियोमा ‘अलराउन्डर’ भूमिका। जेनेरेटर चलाउनेदेखि, प्राविधिक, कार्यक्रम प्रस्तोता, समाचार वाचक, विज्ञापन बनाउनेलगायत सबै। रेडियोको ‘क्रेज’ क्रमशः ओरालो लाग्दै थियो। सुमनले स्नातक उत्तीर्ण गरे।  सपना थियो कलाकार बन्ने। दर्शकमाझ चिनिनु थियो। त्यसका लागि एकपटक संघीय राजधानीमा पाइला राख्नै थियो।

कलाकार बन्ने धोको

सुमनका हजुरबुबा भारतीय गोर्खा सैनिक। भर्तीबाटै ल्र्याका थिए रेडियो । झिसमिसेमा चराचुरुङ्गीको चिरबिरसँगै रेडियो ‘अन’ हुन्थ्यो। रेडियो नेपालको शङ्ख ध्वनिले सुमनको निद्रा भाग्थ्यो। रेडियोमा सुनेका नाटक, विज्ञापनका संवादहरू जस्ताको तस्तै सुनाउँदा साथीहरू हाँस्थे। नाटकका संवाद हुन् या कृषि कार्यक्रमको ‘हरि शरणम्’ कन्ठै पार्थे सुमन।

यो रेडियोमा कसरी बोल्ने होला? कस्ता मान्छेले बोल्ने होला? यस्ता जिज्ञासाको जवाफ पाउन चाहिँ सुमनले दशकौँ कुर्नुपर्‍यो। काकाको बिहेमा वाक्सादेखि ओखलढुङ्गा सदरमुकाम जन्ती जाँदा पहिलोपटक टिभी देखेका थिए तर त्यो पनि कार्टुनभित्र। टिभीमा मान्छे देखिन्छ रे भन्ने सुन्दा कस्तो देखिन्छ होला भन्ने हुटहुटीले पोलिरहन्थ्यो।

सानोमा उटपट्याङ उत्तिकै आउने सुमनलाई। गोठालो जाँदा गाउँलेको गोरु जुधाउनेदेखि भाले जुधाउनमा माहिर। जसरी भए पनि कसैले मलाई चिनोस् भन्ने मनमा लाग्नु नै सायद सुमनको कलाकार बन्ने अदृश्य चाहना थियो। त्यही चाहनाले सुमनलाई आज यहाँसम्म डोर्‍याएको हुनुपर्छ।

बुबाआमाले तराई झारेपछि पनि घरमा टिभी किन्ने आर्थिक हैसियत थिएन। छिमेकी वा गाउँले कहाँ गएर हेर्नुपर्ने। ‘एकाएक निखिल उप्रेतीको ‘ब्लाइन्ड फ्यान’ भइयो’, सुमन सुनाउछन्, ‘निखिल जस्तो बन्न भित्ता, छानामा झुन्डिनेदेखि खेतको कुनै आली बाँकी रहेन उल्टी सुल्टी जिन्म्यास्टिक हान्ने कामले।’

निखिललगायत कलाकार भेट्न एसएलसी पास गर्ने बित्तिकै एउटा झोला भिरेर काठमाडौँ छिरे। उनलाई लाग्थ्यो काठमाडौँ कत्रो होला र? बढीमा विराटगर जत्रो त होला। त्यत्रो फिल्म खेल्ने कलाकार त काठमाडौँमा बाटोमै छ्यापछ्याप्ती भेटिएलान्। भेट्ने हो, कुरा गर्ने हो, फोटो खिच्ने हो। सके फिल्म खेल्ने प्रस्तावै गरौँला।

तर काठमाडौँ टेकिसकेपछि थाहा भयो, काठमाडौँ र मोरङका सहरबीचको भिन्नता। महिनौँसम्म कुनै सडक र गल्लीमा उनले टेलिभिजनका पर्दामा देखेका कलाकारको छायाँसम्म भेटेनन्। कलाकार भेट्ने भूत ओर्लियो र फेरि उही रतुवामाई फर्किए।

रेडियो सुनाखरीमा उनले कमेडी कार्यक्रम प्रस्तुत गर्थे।  उनी रेडियोमा मात्र सीमित थिएनन्। माइक भेटिने जति कुनै कार्यक्रम बाँकी नराख्ने। गाउँका पुराणदेखि पशुचौपायासम्बन्धी शिविरमा समेत केही न केही सुनाएर मान्छे हँसाउने। ‘पूर्वमा राष्ट्रिय कलाकार सहभागी हुने सांस्कृतिक कार्यक्रममा त ‘ओपनिङ’ मा सानो प्रस्तुति राख्न पाए मात्रै संसार जिते झैँ लाग्ने। अझ कुनै कुनै आयोजकले पोस्टरमा सानो फोटो राखिदिँदा खुसीको सीमा नहुने’, कफिको अन्तिम सुर्को तानेपछि उनले भने।

स्थानीय रेडियोमा काम गर्ने रहर पूरा भएपछि अब स्नातकोत्तर पढ्ने र सकिएमा कलाकारिता गर्ने सोचले उनले काठमाडौँ जाने योजना बनाए । तर काठमाडौँमा उनको आफन्त कोही थिएनन्। कहाँ जाने? कहाँ बस्ने? योजना सुनाइरहँदा एकदिन इटहरीस्थित सप्तकोसी एफएममा कार्यरत सन्दीप भट्टले काठमाडौँमा गएर रेडियो अडियोमा काम गर्न सुझाव दिए। र रेडियो सञ्चालक दीपेन्द्र खनियालाई टेलिफोन गरेर संवादसमेत गराइदिए।

विसं २०७२ को भूकम्पपछि उनी पुन काठमाडौँ आए। खनियालाई भेट्न रेडियो अडियोमा गए। उनको प्रस्तुतिहरू सुनिसकेपछि  खनियाले जागिर दिए। काठमाडौँमा टिक्नकै लागि भए पनि उनले फेरि रेडियोमा बोल्न थाले। तर यहाँको रेडियोको प्लेटफर्म र रतुवामाईको प्लेटफर्मबीचमा आकाश जमिनको भिन्नता थियो। यहाँ राष्ट्रियस्तरका कलाकारहरूसँग दैनिक भेट भइरहन्थ्यो। चिनजान हुन थाल्यो।

यही क्रम चलिरहँदा २०७४ सालको वैशाखमा एकाएक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले टेलिफोन गरेर उनलाई एउटा कामको प्रस्ताव गरे। सुमनलाई उक्त प्रस्ताव सपना हो कि विपना भनेर छुट्याउन आफैँलाई चिमोट्नुपर्‍यो। आचार्यको उपन्यास ‘हरिबहादुर’ विमोचनमा एउटा प्रहसन गर्नु थियो। यसमा पत्रकार ऋषि धमलाको अभिनय सुमनले गर्नुपर्ने थियो। आचार्यले दीपेन्द्र खनियाँलाई सोध्दा सुमनको नाम सिफारिस गरेछन्। त्यसपछि हरिवंशले सुमनलाई पुस्तक विमोचनको दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा र पछि देश दौडाहामा सँगै लगे।

‘त्यो क्षण मेरा लागि एउटा कलाकारले ओस्कार अवार्ड पाएभन्दा ठूलो थियो’, उनले भने, ‘पहिलो दिन डबलीमा हरिवंश दाइसँग अभिनय गर्दा त मैले पूरै बेहोसीमै गरेँ। अहिले पनि त्यो भिडियो हेर्दा त्यतिबेला म होसमा थिएँ जस्तो लाग्दैन।’ तर हरिवंश आचार्यसँगको त्यो कामले उनलाई धेरै कुरा सिकायो। अनुशासन, दर्शकलाई गर्नुपर्ने व्यवहार, विनम्रता, हास्यव्यङ्ग्य प्रस्तुति र लेखनमा ध्यान दिनुपर्ने विषय आदि सिक्न पाए।

त्यसपछि उनी ‘कमेडी च्याम्पियन’ प्रतियोगीतामा सहभागी भए। विजेता हुन नसके पनि प्रतियोगीताले परिचय थप फराकिलो बनाइदियो। पछि ‘डान्सिङ स्टार’ नामक ‘रियालिटी सो’ को प्रस्तोताको भूमिका पनि निर्वाह गरे। ‘कमेडी क्लब विथ च्याम्पियन’ नामक टेलिभिजन सोमा विभिन्न भूमिकामा देखिए। केही फिल्ममा अभिनय गरे। उनकै भनाइमा आफूँले थाहा पाउने गरी धेरैवटा र दर्शकले थाहा पाउने गरी दुईवटामा अभिनय गरिससेकाछन्। ती हुन्  ‘दिमाग खराब’ र ‘महजात्रा’ ।

सामाजिक विषयमा व्यङ्ग्य

हास्यका विविध विधा छन्। त्यसमध्ये सुमन सामाजिक विषयवस्तुमा व्यङ्ग्य गर्छन्। उनी प्रहसन, ‘मिमिक्री’, ‘स्ट्यान्ड अप’ कमेडी गर्छन्। उनको कमेडी पुरानो पुस्ताका कमेडियनभन्दा आधुनिक छन्। तर अहिलेका युवा पुस्ताको झैँ  उत्तर आधुनिक पनि हैन।

‘अहिलेका युवा र पुरानोको बीचमा परियो। म अलि पुरानो पुस्ताको कमेडियन हेरेर हुर्किएँ। कमेडीको विभिन्न फम्र्याट छन्। मैले मह जोडीको प्रहसन, दीपक दीपा, जितु नेपालको सिरियल हेरेर हुर्किएको हुँ’, उनी भन्छन्, ‘अहिलेको ‘योङ जेनेरेसन’ को कमेडी चाहिँ पूरै युवाले मात्र मन पराउने सहरिया र विदेशी किसिमको देखिन्छ।’

उनी सामाजिक विषयवस्तुमा कमेडी गर्न मनपर्ने बताउँछन् । ‘मलाई सामाजिक विषय मनपर्छ। म गाउँको मान्छे। यही समाजमा हुर्केको भएकाले मलाई यही विषय थाहा हुन्छ। धेरैजसो दर्शक पनि यही समाजका भएकाले यही मन पराउँछन् जस्तो लाग्छ। नजानेको विषयमा कमेडी त गर्नु पनि सक्दिन होला। सामाजिक विषयमा त मैले देखिरहेको पात्रहरू हुन्छन्’, उनले थपे।

त्यसो त सुमनलाई हास्य मात्रै नभएर गम्भीर प्रकृतिका अभिनय गर्ने इच्छा पनि छ। तर अहिले  ‘करिअर’ को मध्य अवस्थामा धेरैले आफूबाट हँसाउने अपेक्षा राखेको उनको अनुभव छ। कुनै दिन अवसरमा मिलेमा  ‘कमिक क्यारेक्टर’ मात्र नभइ  ‘सिरियस क्यारेक्टर’ गर्ने धोको पनि छ उनमा ।

उनलाई अझै लेखन सिक्ने भोक छ। सदाबहार प्रकृतिका कमेडी गर्न मन छ। ‘जसरी मह जोडीको पुरानो प्रहसनहरू हेर्दा अझै उस्तै लाग्ने खालको छन्, त्यस्तै, लामो समय जीवन्त हुने कमेडी गर्नु मन छ’, सुमन भन्छन्, ‘हास्यव्यङ्ग्यले हँसाउने मात्र हैन नि। यसबाट अरूले बोल्न नसकेका विषय उठान गर्न सकिन्छ।’ सकेसम्म विवादित चीजहरू आफ्ना प्रस्तुतिबाट नआऊन् भनी सधैँ कामना गर्छन उनी।

कलाकारितामा आफूलाई ‘अपडेट’ र  ‘अपग्रेड’ गर्नुपर्ने चुनौती छ। अबको पाँच वर्षपछि यस्तै कमेडी चल्छ कि चल्दैन? दर्शक पनि अपग्रेड हुन्छन्। इन्टरनेटको दुनियाँ छ। आफूलाई दर्शकले हेर्ने बन्न आफैँ गतिलो हुनुपर्छ। कस्तो हास्यव्यङ्ग्य दर्शकले मन पराउँछन् होला?  उनी भन्छन्, ‘म यही क्षेत्रमा टिक्नुसक्छु कि सक्दिन होला भन्ने चिन्ता प्रमुख हो।’

कमेडी, कलाकारिता र अभिनयबाट जीविका चलाउन भने सहजै छ । केही महिनाअघि मात्रै अमेरिकाको विभिन्न राज्यमा १२ वटा कार्यक्रम गरी दुई महिना बिताएर फर्किएका सुमन यही भदौ १३ गते युरोप टुरका लागि उड्ने तयारीमा छन्। भदौको १५ मा पोल्यान्डबाट सुरु हुने कार्यक्रम एक महिनामा सकिन्छ। यसपटकको युरोप यात्रामा पोल्यान्ड, बेल्जियम, जर्मनी, फ्रान्स, फिनल्यान्ड, स्पेन, माल्टा, पोर्चुगल, नर्वे र डेनमार्कमा १२ वटा कार्यक्रम छन्।

विदेश यात्राको सुरुवात कमेडी च्याम्पियनले पहिलोपटक दुबई लगेर गराएको थियो। विशेष कार्यक्रम र यात्राको क्रममा उनी  ‘भ्लगिङ’ पनि गर्छन्। भ्लगिङ गर्दा अपडेट हुने, संस्मरणका रुपमा रहने उनको अनुभव छ। अलिअलि फोन खर्च पुग्ने पैसा नि युट्युबबाट प्राप्त हुने उनले बताए।

‘मेहनत गरियो, आफूसँग कन्फिडेन्स छ र भाग्यले नि साथ दियो भने कमेडीबाट राम्रो कमाई हुने रहेछ’, उनले भने, ‘तर अति उत्साही भइहाल्नु नि हुन्न, धेरै कुरामा ख्याल गर्नुपर्छ। कलाकारिता पेसा त्यति सहज पनि छैन।’

हाँस्नु जति सजिलो छ, हँसाउनु उत्तिकै गाह्रो काम हो। बरु कसैलाई भावुक बनाएर रुवाउन सजिलो होला तर कसैलाई आत्मादेखि हँसाउनु कठिन हुन्छ। आफैँभित्रका हजारौँ दुःखहरू लुकाएर पनि हास्यव्यङ्ग्य कलाकारहरूले दर्शकहरूलाई हँसाइरहेका हुन्छन्।

विश्वचर्चित कवि पाब्लो नेरुदाले भनेका छन्, ‘हाँसो आत्माको भाषा हो’ । कुनै बेलाको एउटा रुन्चे बालक सुमन अहिले नेपाली दर्शकको आत्माको भाषा बुझ्ने लहरमा दौडिरहेका छन्।रासस

प्रकाशित: ११ भदौ २०८१ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast