सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : अध्यक्ष दाहाल

हिमाल प्रेस १० भदौ २०८१ १५:५६ | Monday, August 26, 2024
सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : अध्यक्ष दाहाल पुष्पकमल दाहाल

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन्।

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापनमा अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।

‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ। अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो,’ उनले भने।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए। उनले भने, ‘परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ। त्यसमा हामी सबै सजग हुनुपर्दछ। आवश्यक परेको खण्डमा पुनःसंघर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष प्रचण्डले बताए। उनले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए।

‘अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ। त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो,’ उनले भने।

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: १० भदौ २०८१ १५:५६ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast