जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान उद्घाटन कार्यक्रम आज

हिमाल प्रेस ९ भदौ २०८१ ९:१३ | Sunday, August 25, 2024
जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान उद्घाटन कार्यक्रम आज

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ उद्घाटन गर्न लागेको छ। बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको आज उद्घाटन गर्न लागेका छन्।

काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा मध्यान्ह १२ः३० बजे चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत संगठन निर्माण अभियान प्रारम्भ हुनेछ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगन्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोसी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ।

त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगन्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ।

भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगन्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरूलाई अभिमुखीकरणमा सहभागी गराइनेछ।

गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यहरूलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: ९ भदौ २०८१ ९:१३ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast