मर्स्याङ्दी दुर्घटना : मृतकको शव भारत पठाइयो

हिमाल प्रेस ८ भदौ २०८१ १८:५५
10
SHARES
मर्स्याङ्दी दुर्घटना : मृतकको शव भारत पठाइयो भारतीय एयरफोर्सको जहाजबाट भरतपुर विमानस्थलबाट शव भारत पठाइँदै।

भरतपुर– तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ। भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट शनिबार अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर पुगेकी थिइन्। मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

पोखराबाट काठमाडौँको पशुपतिनाथ दर्शन गर्न आउँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो। मृतकमध्ये १५ महिला, ११ पुरुष र एकजना चार वर्षीया बालिका रहेकी छन्। घाइते हुनेमा छ पुरुष र १० महिला छन्।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए। घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ। मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका यादवले जानकारी दिए। पोखराबाट काठमाडौँ आउँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो। दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारका राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेटी सो घटनाप्रति दुःख व्यक्त गरेका थिए।

प्रकाशित: ८ भदौ २०८१ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast