एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ नेपाल भित्रियो

हिमाल प्रेस ८ भदौ २०८१ १२:४२ | Saturday, August 24, 2024
एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ नेपाल भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाखको मात्रै निर्यात गरेको हो।

विभागका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलना चालु आवको पहिलो महिनामा आयात शून्य दशमलव ६७ प्रतिशतले घटेको छ भने निर्यात नौ दशमलव ६३ प्रतिशतले घटेको छ।

गत साउन महिनामा नेपालले भारतसँग मात्र ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ।

चालु आवको पहिलो महिना भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा सात अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको हो। नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुकसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ।

गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा रु १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो । कतार, युक्रेन, अस्ट्रेलिया, बहराईन, मलेसियालगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ।

चालु आवको पहिलो महिनामा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँग भने व्यापार नाफा छ । सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग रु १८ करोड ३४ लाख ६६ हजार बराबर व्यापार नाफा देखिएको हो। अफगानिस्तान, बेल्जियम, रुस, मौसिरसलगायत मुलुकसँग व्यापार नाफा देखिएको छ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन्। गत एक महिनामा मात्र नेपालले छ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, रु पाँच अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र चार अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ।

त्यस्तै, साउनमा तीन अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। नेपालले बढी निर्यात गरेका वस्तुहरुमा भने कार्पेट, चिया, स्टील, धागोलगायत छन्। गत साउनमा नेपालले एक अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ।

प्रकाशित: ८ भदौ २०८१ १२:४२ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast