काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अनशन बसेर कमला पुल निर्माणसम्बन्धी समस्या हल नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले अनशन बसेर समस्या हल नहुने बताउँदै छलफलमा आउन आग्रह गरेका हुन्।
सञ्चालनमा आउनुअगावै पुल भासिने कारणको दोषी को हुन् भनेर उनले प्रश्न गरे। मन्त्री दाहालले भने,‘डिजाइन एन्ड विल्ड विधिबाट ठेक्का लागेको हो। पुल दुईतिरबाटै भासिएको अवस्था छ। यसको जिम्मा कसले लिने? मन्त्रीको हैसियतले सोध्न चाहन्छु। पुल किन भासियो भन्ने प्रश्न छ।’
उनले भासिएको पुलको मर्मत निर्माण व्यवसायीले नै गर्नुपर्ने उल्लेख गरेका छन्। दाहालले भने,‘त्यही निर्माण व्यवसायीले मर्मतको काम गर्नुपर्ने हो। काम लगाउन गइरहेका छौँ। अनशन बसेर समस्याको समाधान हुनेवाला छैन।’
पुल मर्मत प्रक्रिया अगाडि बढाउनका लागि निर्माण व्यवसायी, आयोजना प्रमुखलगायतसँग आफू छलफल गर्न गइरहेको उनले जानकारी दिए। दाहालले समस्या समाधान गर्न अनशन तोडेर छलफलमा आउन आग्रह गरे। उनले कमल पुलको समस्या ठूलो भएकाले गम्भीरतापूर्वक लिएको बताए।
बीमा कम्पनीले निर्माण व्यवसायीलाई क्षतिपूर्तिवापतको रकम उपलब्ध नगराउँदा समस्या निम्तिएको उनको भनाइ छ। मन्त्री दाहालले भने,‘बीमावालाले पैसा दिनुपर्छ। बीमावालाले पैसा दिएको छैन, त्यसैले समस्या आएको छ।’
हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालनमा आउनअगावै तीन वर्षअघि भासिएको थियो। तीन वर्षअघि भासिएको पुल अझै मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
पुल मर्मतमा सरकारले चासो नदिएपछि युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय गेट नजिक पछिल्लो तीन दिनदेखि आमरण अनशनमा बसिरहेका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई सात दिनको अल्टिमेटम दिँदै उनीहरू अनशनमा बसेका हुन्।