पूर्वमन्त्री बस्नेतको चेतावनी : सिन्धुपाल्चोकमा ढुंगाखानी चलाउन खोज्नेको ‘लाइफ ड्यामेज’ बनाइदिन्छु

हिमाल प्रेस ६ भदौ २०८१ १५:०२ | Thursday, August 22, 2024
पूर्वमन्त्री बस्नेतको चेतावनी : सिन्धुपाल्चोकमा ढुंगाखानी चलाउन खोज्नेको ‘लाइफ ड्यामेज’ बनाइदिन्छु पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको समीक्षा कार्यक्रममा।

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा अवैध ढुंगाखानी सञ्चालन गर्नेहरूले तत्काल काम नरोके ‘लाइफ ड्यामेज’ पारिदिने चेतावनी दिएका छन्। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बस्नेतले जिल्लामा अवैध रुपमा ढुंगाखानी सञ्चालन जारी रहेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

उनले ढुंगाखानीको कारण पहिरो गइरहेकोले यसलाई रोक्नुपर्ने पनि बताए। ‘ढुंगाखानीको कारण पहिरो गइरहेको छ। अहिले पनि म ढुंगा खानी सञ्चालन रोक्न खोज्छु अरु साथीहरू चलाउन खोज्छन्,’ बस्नेतले भने, ‘अब म अरु केही भन्दिनँ। अब आइन्दा ढुंगा खानी पुलिस, प्रशासन, नेताले ढुंगाखानी चलाउने कुरा पास गर्ने काम नगर्नुहोला गर्न थाले म कारबाही गर्छु। लाइफ ड्यामेज गर्छु अब।’

उनले स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको मिलिमतोमै ढुंगाखानी उत्खनन् हुने र बाढी पहिरोको जोखिम बढिरहने भएको पनि बताए।

त्यस्तै बस्नेतले आफू मन्त्री हुँदा जिल्लामा धेरै आयोजना र बजेट पारेको बताए। उनले भने, ‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन। म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस्।’ बस्नेत सिन्धुपाल्चोक-२बाट निर्वाचित सांसद हुन्। उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन्।

प्रकाशित: ६ भदौ २०८१ १५:०२ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast