काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन्। ४४औं बीपी स्मृति दिवसको अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले अब एकताको कुरा गरेर नहुने र आजै राष्ट्रिय भेला घोषणा गर्नुपर्ने बताए।
‘उहाँहरू भदौ २ बाट वडा अधिवेशनमा लाग्ने रे। हामी एकता एकता भनेर बसेर काम छैन,’ बस्नेतले भने,‘अब ठ्याक्क आज घोषणा गर्ने अनि पार्टी बनाउने। देशभरि मनपरि भातृ संगठन बनेको छ,भटाभट प्यारालल संगठन हान्ने। महिला, विद्यार्थी सबैलाई अघि बढाउने।’
सभापति गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई सति जान दिन नहुने उनको भनाइ छ।
‘हामीले भनेका छौं, सातवटा प्रदेशको प्रदेश भेला पनि हामी हामी बसेर गर्नुपर्छ भनेका हौं। त्यसपछि लगत्तै केन्द्रीय भेला गर्ने भनेको हो,त्यो केही ढिलासुस्ती भएको छ। आज केन्द्रीय भेलाको घोषणा हुनुपर्छ। केन्द्रीय भेलाबाट छिनोफानो गर्नुपर्छ। पार्टी फुटाउने होइन, पार्टी बनाउने हो। अर्को पार्टी बनाउने हो। गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई सति जान दिने होइन। कमजोर पार्टीको नेता बन्ने होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्ने हुन्छ,’ उनले भने।

