बेलायत सपना त्यागेर किवीमा जमेका लालबहादुर

हिमाल प्रेस ५ भदौ २०८१ १२:४५ | Wednesday, August 21, 2024
बेलायत सपना त्यागेर किवीमा जमेका लालबहादुर

म्याग्दी- बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला उनी किवी खेतीमा व्यस्त छन्। उनी कुनै बेला विदेश जाने सपना बोकेका व्यक्ति हुन्। सायदै त्यही अभिलासा बोकेको भए उनी यतिबेला विदेशको भूमिमा  श्रम र पसिना बगाइरहेको हुन्थे।

२०७५ सालमा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो। ‘दुई वर्ष मलेसीया र एक वर्ष बहराइनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो,’ उनले भने, ‘बेलायतको राहदानी त्यागेर सुरु गरेको किवी खेतीले सफलता मिल्न थालेको छ। घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु।’

सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किवीले आम्दानी दिन थालेको छ। गत वर्ष प्रतिकिलो दुई सय ५० का दरले दश क्विन्टल किवी बेचेका पुन यसपाली राम्रो फल लागेकाले उत्पादन र आम्दानी बढ्ने आशामा छन्। किवी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमती बाहेक तीन जनालाई रोजगारी दिएका छन्। बाख्रापालन पनि सहायक पेशाको रूपमा रहेको छ।

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालय मार्फत प्राविधिक तालिम, निशूल्क र अनुदानमा किवीका बिरुवाका साथै सिंचाइका लागि ड्रम सहयोग गरेका छन् । बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जना भन्दा बढीले व्यवसायिक किवी खेती गरेका छन् ।

‘हावापानी र भूगोल अनुकूल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तला खेती प्रर्वद्धनमा जोड दिएका छौ,’ उनले भने, ‘किवी र सुन्तला खेती गरेका मध्य धेरैजसो विदेशबाट फर्किएका युवाहरू छन्। व्यावसायिक कृषिमा आवद्ध गराएर युवाहरूलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौ।’

लछु पुनले दश वर्षअघि भकिम्लीमा किवी खेती भित्र्याउनु भएको थियो। अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यवसायिक किवी खेती विस्तार गरेका छन्।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किवी खेती गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताइन्।

पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ। अमिलो र गुलीयो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रूपमा चिन्ने गरिएको छ।

किवी चीनमा विकास भएको फलफूल हो। न्यूजील्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ। सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय छ र निजी नर्सरीबाट तीन सय सम्ममा बिक्री हुन्छ।

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किवी एक रोपनीमा १५ सम्म किवीका बिरुवा लगाउन सकिन्छ । फुल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो।

किवीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताए। रासस

प्रकाशित: ५ भदौ २०८१ १२:४५ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast