सहकर्मीको हत्यापछि भारतमा चिकित्सकहरूद्वारा कडा कानूनको माग

हिमाल प्रेस ३ भदौ २०८१ १९:०७
8
SHARES
सहकर्मीको हत्यापछि भारतमा चिकित्सकहरूद्वारा कडा कानूनको माग

नयाँ दिल्ली– भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी सहकर्मीलाई न्याय दिन कडा कानूनको माग गर्दै चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन्।

‘न्यायमा ढिलाइ हुनु न्याय नपाउनु हो’ जस्ता नारासहित प्रदर्शन गरिरहेका चिकित्सकहरूलाई नयाँदिल्लीस्थित मन्त्रालयबाहिर निःशुल्क बहिरङ्ग सेवा स्थापना गर्न खोज्दा प्रहरीले रोकेको थियो।
पश्चिम बंगालको राजधानी कोलकातामा अगस्ट ९ मा ३१ वर्षीया प्रशिक्षार्थीको बलात्कार र हत्यापछि भारतभरका चिकित्सकहरूले विरोध प्रदर्शन र मैनबत्ती (क्यान्डल लाइट) मार्च गरेका छन् भने गैर–आकस्मिक बिरामीहरूको हेरचाह गर्न अस्थायीरूपमा अस्वीकार गरेका छन्।
सहकर्मीमाथि भएको आक्रमणले सम्पूर्ण भारतका अस्पताल र मेडिकल क्याम्पसहरूमा स्वास्थ्य सेवाकर्मीहरूको संवेदनशीलतालाई उजागर गरेको चिकित्सकहरूले बताएका छन्।
उनीहरूले ड्युटीमा रहेका चिकित्सकहरूमाथि हुने कुनै पनि आक्रमणलाई जमानतको सम्भाव्यताविना अपराध बनाउने, अस्पतालमा सुरक्षा बढाउने र उनीहरूलाई आराम गर्नका लागि सुरक्षित स्थान बनाउने लगायतका कडा कानूनको माग गरेका छन्।
प्रदर्शनकारी चिकित्सक डेजी सिंहले भनीन्,‘यदि एउटी महिला कार्यस्थलमा, अस्पतालमा सुरक्षित छैनन् भने मलाई आश्चर्य लागेको छ कि यो मुलुकमा कुन महिला सुरक्षित छन?’  सरकारले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको मागप्रति समिति गठन गर्ने बताएको छ। कोलकाताको आरजी कर मेडिकल कलेज एन्ड हस्पिटलमा प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याले महिला विरुद्धको हिंसाको पुरानो मुद्दामा आक्रोशलाई बढाएको छ।
अस्पतालमा कार्यरत एक प्रहरी स्वयंसेवकलाई पक्राउ गरी घटनामा संलग्न रहेको आरोप लगाइएको छ। तर पीडितको परिवारले यो सामूहिक बलात्कार भएको र यसमा थप व्यक्ति संलग्न रहेको बताएको छ। घटनाको सीबीआईले अनुसन्धान गरिरहेको छ।
हजारौँ मानिस विशेषगरी महिलाहरूले चिकित्सकलाई न्यायको माग गर्दै कोलकाताको सडकमा जुलुस निकालेका छन्।
सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा २३ वर्षीया छात्राको सामूहिक बलात्कार र हत्यापछि लागु गरिएको कडा कानूनहरूका बाबजुद भारतमा महिलाहरूले बढ्दो हिंसाको सामना गर्नुपरिरहेको उनीहरूले बताएका छन्। उक्त आक्रमणले सांसदहरूलाई यस्ता अपराधका लागि कडा सजायको आदेश दिन र बलात्कारको मुद्दाहरूमा समर्पित फास्ट ट्र्याक अदालत स्थापना गर्न प्रेरित गरेको थियो। सरकारले बारम्बार अपराध गर्नेलाई मृत्युदण्डको पनि व्यवस्था गरेको छ।
कडा कानून बने पनि भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या बनेको छ। राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०२२ मा प्रहरीले बलात्कारका ३१ हजार पाँच सय १६ रिपोर्ट रेकर्ड गरेको थियो। यो आँकडा सन् २०२१ को तुलनामा २० प्रतिशतले बढी हो।
प्रकाशित: ३ भदौ २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast