वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्चको आदेश

हिमाल प्रेस ३ भदौ २०८१ ८:२६
8
SHARES
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्चको आदेश सर्वोच्च अदालत

काठमाडौँ- सर्वोच्च अदालतले यशोदा फुड्स (करेन्ट चाउचाउको उत्पादक) लाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ। साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध यशोदा फुड्स वाईवाईको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो।

सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो। यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातिप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाईजस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको सीजी फुड्सले उल्लेख गरेको छ।

सीजी फुड्सले भनेको छ, ‘चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतलाई सम्मानित अदालतले रोक लगाइदिएको छ।’

यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न कोसिस गरेको थियो। उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियासमेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो।

यस आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ। अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको सीजी फुड्सले उल्लेख गरेको छ।

प्रकाशित: ३ भदौ २०८१ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =