उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा

हिमाल प्रेस ३ मंसिर २०७९ ८:२५ | Saturday, November 19, 2022
उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा

काठमाडौँ- आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन्। मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

यसैबीच, काठमाडौँ उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन्। काठमाडौँका दुई र ललितपुरका एक कारागारमा रहेका कैदीबन्दीमध्ये १८२ जनाले मतदान गर्न पाउनेछन्।

कारागार कार्यालय काठमाडौँमा एक सय १० र जगन्नाथदेवलमा २० तथा कारागार कार्यालय ललितपुर ५२ कैदीबन्दीले मतदान गर्नेछन्। कारागार कार्यालय जगन्नाथदेवलमा तीन हजार चार सय, कारागार कार्यालय काठमाडौँमा छ सय ५० र कारागार कार्यालय ललितपुरमा एक हजार चार सय २० भन्दाबढी कैदीबन्दी छन्।

कारागार कार्यालय जगन्नाथदेवलमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको कार्यालयका उपसचिव वेदप्रसाद खरेलले जानकारी दिए। उनले निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री बुझेर ल्याइएको बताए। आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।

आयोगले यसपटकदेखि मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदानको व्यवस्था मिलाएको छ।

त्यसका लागि देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलो पटक कार्यान्वयनमा ल्याएको हो। देशभर चार लाख ५० हजार अस्थायी मतदाता छन्।

प्रकाशित: ३ मंसिर २०७९ ८:२५ | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast