मेरी आमा अहिले पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ : जोय

हिमाल प्रेस २६ साउन २०८१ १७:०१ | Saturday, August 10, 2024
मेरी आमा अहिले पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ : जोय सेख हसिना : फाइल तस्बिर

काठमाडौँ – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद रोयले आफ्नी आमा भारत जानुअघि पदबाट राजीनामा नगरेको दाबी गरेका छन्। प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास ‘गणभवन’ तर्फ आउन थालेपछि कुनै पनि ढिलाइ नगरी हसिना त्यहाँबाट निस्किएको उनको भनाइ छ।

‘उहाँले राष्ट्रलाई सम्बोधन गरेर राजीनामा दिने योजना बनाउनु भएको थियो। तर, प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ आउन थाले। त्यहाँ समय थिएन। मेरी आमाले समानहरू पनि मिलाउनसक्नु भएन। संविधानअनुसार उहाँ अहिले पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ,’ जोयले रियुटर्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्।

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना गत सोमबारदेखि नयाँदिल्लीमा शरण लिएर बसेकी छन्। आरक्षणविरोधी आन्दोलनपछि राजीनामाको माग गर्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि हसिना देश छोड्न बाध्य भएकी थिइन्।

प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले संसद विघटन गरेर सेना र विपक्षी दलसँगको सल्लाहमा बनाइएको अन्तरिम सरकारलाई अदालतमा चुनौती दिन सकिने जोयले उल्लेख गरेका छन्। तीन महिनापछि हुने चुनावमा उनकी आमाले नेतृत्व गरिरहेको अवामी लिग पार्टीले भाग लिने उनको भनाइ छ।

‘अवामी लिग सत्तामा आउने मलाई पूरा विश्वास छ, सरकार बनाउन नसके प्रमुख प्रतिपक्ष निश्चित रूपमा हुनेछ,’ उनले भनेका छन्।

 

प्रकाशित: २६ साउन २०८१ १७:०१ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast