टेलिकमको प्रबन्ध निर्देशकमा अर्यालको सम्भावना बलियो

हिमाल प्रेस २५ साउन २०८१ १७:२०
50
SHARES
टेलिकमको प्रबन्ध निर्देशकमा अर्यालको सम्भावना बलियो संगीता पहाडी अर्याल

काठमाडौँ- नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त हुने सम्भावना बढेको छ। १६ प्रतिस्पर्धीमध्ये योग्यता र अनुभवका आधारमा अगाडि रहेकाले उनी प्रबन्ध निर्देशक नियुक्त हुने प्रबल सम्भावना रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले बताए। साथै अर्याल यसअघि पनि प्रबन्ध निर्देशक छनोटका क्रममा दुईपटक उत्कृष्ट तीनभित्र परेकी थिइन्। यसैगरी प्रतिस्पर्धी १६ मध्ये अर्याल मात्रै महिला रहेको ती अधिकारीको भनाइ छ।

यसअघिको गठबन्धन सरकारले प्रबन्ध निर्देशकका लागि माग गरेको आवेदनमा १६ जना सूचीकृत भएका थिए। अब उत्कृष्ट तीनजना छनोट हुनेछन्। तीमध्येबाट एकजनालाई प्रबन्ध निर्देशकमा नियुक्ति दिनुपर्ने प्रावधान छ।

अर्याल विगत ९ महिनादेखि निमित्त प्रबन्ध निर्देशकका रूपमा कार्यरत छिन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत असोज १७ गतेको मन्त्रिस्तरको निर्णयअनुसार अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्धन निर्देशकको जिम्मेवारी दिइएको थियो।

अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी निमित्तको भरमा सञ्चालित हुँदा कर्मचारी बढुवादेखि दीर्घकालीन निर्णय अवरुद्ध छन्। सोही कारण पूर्ववर्ती सरकारले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) मा नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको थियो।

सञ्चार मन्त्रालयले जेठ २२ मा प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। मन्त्रालयले आवेदन स्वीकृत भएका १६ जना उम्मेदवारलाई असार २०, २१ र २२ मा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको थियो।

अघिल्लो सरकारकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अगुवाइमा टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइए पनि सरकार परिवर्तनसँगै अन्तिम निर्णय हुन सकेको छैन।

तीन दशकभन्दा बढी समयदेखि दूरसञ्चारमा कार्यरत अर्यालले अलाहाबाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट एमई गरेकी छिन्। साथै उनले अमेरिका, चीन भारत, इजरायललगायत मुलुकबाट टेलिकमसँग सम्बन्धित छोटा अवधिका विभिन्न कोर्स पूरा गरेकी छन्।

तीव्र प्रतिस्पर्धात्मक अवस्थामा कम्पनीको सेवा विस्तार, गुणस्तर सुधार, ग्राहक सन्तुष्टिका साथै दूरसञ्चारसम्बन्धी नीति कार्यान्वयनमा उनले योगदान दिँदै आएकी समकक्षीहरू बताउँछन्। अर्यालले नेतृत्व पाएमा संस्था अझै बलियो बनाउने विश्वास उनीहरूको छ। टेलिकमका एक उच्च अधिकारीले भने, ‘यसपटक संगीता म्याम नै प्रमुख दाबेदार हुनुहुन्छ।’

अर्यालले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन्। उनले २०५१ फागुन १ मा गते स्थायी नियुक्ति लिएकी हुन्। उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्।

उनले त्यतिबेला पदभार ग्रहण गर्दै सबैलाई साथमा लिएर सबैले जिम्मेवारी बोध गरेर काम गरे टेलिकमको हैसियत अझै माथि पुर्‍याउन सक्ने बताएकी थिइन्। यस बीचमा निमित्त प्रबन्ध निर्देशक भएर पनि त्यसमा काम गरिसकेकी छन्।

सरकारले यसअघि रोकिएको प्रक्रियालाई सदर गर्दै त्यसबाट छनोट गर्ने तयारी अघि बढाएको छ। यसअघि पनि टेलिकमकै वरिष्ठ अधिकारी नियुक्त हुँदै आएकाले यसलाई निरन्तरता दिएर अर्याललाई नियुक्ति गर्न लागिएको मन्त्रालयका ती अधिकारीले बताए।

प्रकाशित: २५ साउन २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast