लमजुङ– जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नुपरेको कैदीबन्दीले गुनासो गरेका छन्। कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन्।आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो।
कारागारमा तरकारी पकाउँदा ८० रुपैयाँदेखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा एक सय रुपैयाँ दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक ८० रुपैयाँ र सात सय ग्राम चामलमा समेत अनियमितता हुने गरेको गुनासो कैदीबन्दीको छ।
कारागारमा एक सय १३ कैदीबन्दी छन्। उक्त संख्याअनुसार दैनिक नौ हजार ४० रुपैयाँ सिदा रकम र करिब ८० केजी चामल उपलब्ध हुने गरेको छ। मासिक दुई लाख ७१ हजार दुई सय सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ। सो कारोबारबाट दैनिक चार हजार रुपैयाँ र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन्।
पेरोल र लगत पठाउँदा चौकीदारले रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरु बताउँछन्। अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैँले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरुको भनाइ छ।
पहिलो पटक आउने कैदीबन्दीबाट पाँच सय रुपैयाँ आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताए।
यस विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही समयअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन्।
कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहेका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आएका छन्। उनले अनियमितता नगरेको बताए। तरकारी किलोकै दुई सय रुपैयाँसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताए।
दैनिक १५–१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उनको भनाइ छ। उहाँले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको जानकारी दिए।
पहिलोचोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्विकारे ‘भनेर नमान्ने कैदीबन्दीलाई तर्साउन हातपात गर्छौँ, के गर्नु भनेर नमान्नेलाई यसरी गर्नुपर्छ’, उनले भने। केही वर्षपहिले त लात्तीले मुर्छा पर्ने गरेर हिर्काउने गरिएकामा अहिले त्यसो नगरिने उनले सुनाए।
चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताए। आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताए। अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैँले तिर्नुपरेको गुनासो उनको छ।
‘म चौकीदार हुनुअघि चैतमा ज्वरो आएर लमजुङ अस्पताल उपचार गर्न पुगेको थिएँ। त्यहाँ उपचार गर्दा दुई हजार छ सय खर्च भयो। मैले सबै बिल बराबरकै रकम बुझाएँ तर एक हजार आठ सय मात्र पाएँ’, चौकीदार मगरातीले भने।
कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीमाथि हुने शोषण, दमन नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ। कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुटेका रोशन तामाङले जानकारी दिए।
निमित्त जेलर सुमिता मरासिनीले भनिन्, ‘कारागारका यो विषयमा बल्ल जानकारी पायौँ, हामीलाई थाहा थिएन, हामी यस विषयमा छानबिन गर्छौँ।’ हातपात हुने गरेको, आन्तरिक कोषका लागि रकम उठाउने र नदिनेलाई सजाय दिने गरेको समेत भर्खरै थाहा पाएको उनले बताइन्।
‘हामीले कैदीबन्दीको खर्च सबै मेडिकल नाइकेलाई नियमअनुसार पठाएका छौँ तर सबै रकम कैदीबन्दीले नपाएको बल्ल थाहा भयो। यी विषयमा हामी कदम उठाउँछौँ”, उनले भनिन्।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताए। ‘त्यहाँ शंका गर्न सकिन्छ, प्रमाण त छैन। साँच्चिकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरुको पनि छुट्टै शासन हुन्छ’, गुरुङले भने, ‘ठूला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छभने हेर्छु, यसमा मेरो ध्यान गएको छ।’ रासस