विश्वकपका खेलको अवैध स्ट्रिमिङ रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

हिमाल प्रेस २९ जेठ २०८३ १०:३० | Friday, June 12, 2026
10
SHARES
विश्वकपका खेलको अवैध स्ट्रिमिङ रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरूको अवैध प्रसारण तथा स्ट्रिमिङ रोक्न सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणको अनुमतिपत्र सर्त अनुगमन शाखाले बिहीबार जारी गरेको पत्रमा नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डीगो ब्रोडकास्टिङ कन्सोर्टियमसँग रहेको उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार पछिल्लो समय पाइरेटेड तथा अनधिकृत वेबसाइट र एपमार्फत विश्वकपका खेलहरू नि:शुल्क स्ट्रिमिङ गर्ने प्रयास भइरहेको पाइएको छ। त्यसैले सेवा प्रदायकहरूलाई यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक निगरानी तथा प्राविधिक व्यवस्था मिलाउन निर्देशन दिइएको हो। यससँगै प्राधिकरणले अवैध प्रसारण हुन सक्ने ३५ वटा वेबसाइट तथा प्लेटफर्मको सूचीसमेत सार्वजनिक गरेको छ।

नेपालमा यसपटकको फिफा विश्वकप हिमालय स्पोर्ट्स च्यानलमार्फत टेलिभिजनमा तथा डीगो एपमार्फत डिजिटल प्लेटफर्ममा प्रसारण हुनेछ। फिफाले नेपालका लागि विशेष (एक्सक्लुसिभ) प्रसारण अधिकार प्रदान गरेकाले विदेशी टेलिभिजन च्यानल वा स्ट्रिमिङ एपहरूले नेपालभित्र खेलहरू प्रसारण गर्न पाउने छैनन्।

दर्शकहरूले निर्धारित शुल्क तिरेर विश्वकपका सबै १०४ खेल हेर्न सक्नेछन्। टेलिभिजन प्याकेजको मूल्य करसहित ९९९ रुपैयाँ तोकिएको छ भने मोबाइल-ओन्ली प्याकेजका लागि ५४९ रुपैयाँ शुल्क लाग्नेछ। मोबाइल र ल्यापटप दुवै उपकरणमा हेर्न चाहने दर्शकले पनि ९९९ रुपैयाँको प्याकेज लिन सक्नेछन्।

कसरी लिन सकिन्छ सदस्यता?

टेलिभिजनमार्फत खेल हेर्न चाहने ग्राहकले आफ्नो डिजिटल टिभीमा हिमालय स्पोर्ट्स एचडी च्यानल खोलेर स्क्रिनमा देखिने क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। इसेवा, खल्तीलगायत डिजिटल वालेटमार्फत पनि सम्बन्धित सेवा प्रदायकको युजर आईडी प्रयोग गरेर विश्वकप प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

तर विश्वकप प्याकेज प्रयोग गर्न डिजिटल टिभीको नियमित सदस्यता सक्रिय हुन अनिवार्य छ। नियमित सेवा निष्क्रिय रहेको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर प्रसारण हेर्न सकिने छैन।

मोबाइल वा ल्यापटपमा खेल हेर्न चाहने दर्शकले डीगो एप डाउनलोड गरी दर्ता वा लगइन गर्नुपर्नेछ। इसेवा वा खल्ती एपमार्फत पनि विश्वकप प्याकेज खरिद गर्न सकिनेछ।

डीगोले ल्याएको ‘मोबाइल-ओन्ली’ पासमार्फत दर्शकहरूले ५४९ रुपैयाँमा विश्वकपका सबै १०४ खेल नेपाली वा अंग्रेजी दुवै कमेन्ट्रीमा प्रत्यक्ष हेर्न सक्नेछन्। कम्पनीका अनुसार खेलहरू १०८०पी (फुल एचडी) गुणस्तरमा उपलब्ध हुनेछन्।

कम्पनीले पहिलो पटक लगइन तथा प्रमाणीकरण गरिएको मोबाइल नम्बर र डिभाइससँग सदस्यता स्थायी रूपमा जोडिने भएकाले प्याकेज खरिद गर्दा प्रयोग गर्न चाहेको डिभाइसबाटै सक्रिय गर्न सुझाव दिएको छ। सक्रिय भइसकेपछि सदस्यता अर्को मोबाइल वा डिभाइसमा स्थानान्तरण गर्न नमिल्ने व्यवस्था रहेको जनाइएको छ।

प्रकाशित: २९ जेठ २०८३ १०:३० | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast