पूर्वमन्त्री महतोले भने : कसले पत्याउँछ? सानोठिमीमा पाँच हजार घूस दिनुपर्‍यो

हिमाल प्रेस ६ साउन २०८१ १६:५७ | Sunday, July 21, 2024
पूर्वमन्त्री महतोले भने : कसले पत्याउँछ? सानोठिमीमा पाँच हजार घूस दिनुपर्‍यो वीरेन्द्र महतो। फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री वीरेन्द्रप्रसादले आफ्नो छोराको समकक्षता पत्र लिनका लागि पाँच हजार घूस बिचौलियालाई बुझाउनु परेको बताएका छन्। आइतबार प्रधानमन्त्रीको विश्वासको मतमाथिको प्रस्तावमा छलफल गर्ने क्रममा शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा घूस बुझाएको बताएका हुन्।

उनले देशमा निकै निराशको अवस्था रहेकोप्रति चिन्ता गर्दै भने, ‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ? मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने। म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने।’

उनले ती कर्मचारी चिया समय भयो भन्दै गए पनि अपराह्न चार बज्दासमेत नआएको र पछि बिचौलिया पहिचान गरी पाँच हजार घूस दिँदा पाँचै मिनेटमा काम भएको पनि सुनाए। देशमा बिचौलियाले जरो गाडेको पनि बताए।

‘कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्। बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो,’ उनले भने, ‘अनि हामी सुशासनको कुरा गर्छौँ।’

उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताउँदै देशलाई राजनीतिक स्थिरतातर्फ कांग्रेस-एमालेको गठबन्धन सफल होस् भन्दै शुभकामना पनि दिए।

प्रकाशित: ६ साउन २०८१ १६:५७ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast