काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार ४२औँ बीपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए।
‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन। आफैँभित्र खोज्नुपर्छ। हामसिँगै छ त्यो। हामीभित्रै छ। त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छ,’ थापाले भने।
कांग्रेसभित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने उनको भनाइ छ। उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए। कांग्रेसले गर्ने बहस आम नागरिकलाई सूचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने उनको भनाइ छ।