बर्हिगमनअघि सदनबाट मत जाँच्दै बागमती र लुम्बिनीका मुख्यमन्त्री

हिमाल प्रेस ६ साउन २०८१ ८:५१ | Sunday, July 21, 2024
बर्हिगमनअघि सदनबाट मत जाँच्दै बागमती र लुम्बिनीका मुख्यमन्त्री बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेल (बायाँ), लुम्बिनीका मुख्यमन्त्री (दायाँ)।

काठमाडौँ- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका हुन्।

अंकगणितीय प्रतिकूलताका बीच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुंग्याउने भएका हुन् । सोहीअनुसार शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको छ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको पक्षमा २९ मत प्राप्त हुने देखिन्छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र साझेदार दल एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी समेतको गरी २९ मत प्राप्त हुने देखिन्छ। यहाँ विश्वासको मत पाउन ५६ मत चाहिन्छ।

यता लुम्बिनी प्रदेशमा  माओवादी संसदीय दल नेता समेत रहेका महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

अहिले मुख्यमन्त्री महरासँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एक-एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ । बागमती र लुम्बिनी दुवै प्रदेशमा मुख्यमन्त्रीले बहुमत गुमाएकोले उनीहरू आजै सत्ता बहिर्गमन हुने निश्चित देखिएको छ।

प्रकाशित: ६ साउन २०८१ ८:५१ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast