निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

हिमाल प्रेस ४ साउन २०८१ १७:०३ | Friday, July 19, 2024
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग आज अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन्।

महासंघका पदाधिकारीसँगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए। ‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ’, अर्थमन्त्री पौडेलले भने, ‘समस्या आइसकेपछि यत्तिको राख्ने होइन, समाधान गर्दै जाने हो। दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ।’

सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए। पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे।

‘तपाईहरूका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ। तपाईंहरू पनि तोकिएको समय र लागतभित्र काम सक्नुस्। कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला’, अर्थमन्त्री पौडेलले भने। निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब रु ६० अर्ब बराबर भुक्तानी पाउन बाँकी रहेको दाबी गर्दै आएका छन्।

प्रकाशित: ४ साउन २०८१ १७:०३ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast