संविधान हामीले ल्याएका हौँ, हामी नै रक्षा गर्छौँ अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक

हिमाल प्रेस २८ असार २०८१ १४:४८ | Friday, July 12, 2024
संविधान हामीले ल्याएका हौँ, हामी नै रक्षा गर्छौँ अर्ति उपदेश आवश्यक छैन : रमेश लेखक गृहमन्त्री रमेश लेखक।

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले संविधानमै १० वर्षपछि पुनरवलोकन गर्न सकिने व्यवस्था रहेको बताए।

‘के संविधान छुनै नहुने विषय हो। संविधान पाठ गर्नका लागि लेखिएको पुस्तक हो ? होइन। संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूको बारेमा १० वर्षपछि पुनरवलोकन गर भन्छ,’ उनले भने।

उनले संविधान आफैँले पुनरवलोकन गर्न भनेकोमा पश्चगमन हो भनी प्रश्न गरे। संविधानलाई थप समृद्ध गर्ने कुरा गलत नहुने उनको भनाइ छ। उनले जनताको स्वामित्व स्थपना हुन नसके कमजोर हुने बताए।

सहमतिका आधारमा संविधान संशोधन गर्न पहल कसैले लिनुपर्ने भएकाले आफूहरूले त्यसको नेतृत्व गरेको उनले बताए। लेखकले संविधान संशोधनको विषयमा अरूलाई निषेध नगरिने बताए। लेखकले समावेशिता, लोकतन्त्र समाप्त हुने भाष्य नबनाउन आग्रह गरे।

‘संविधान हामीले ल्याएको हो। संविधानको रक्षा हामी गर्छौं। हामीलाई कुनै अर्ति उपदेश आवश्यक छैन,’ उनले भने।

उनले संविधानलाई चलायमान बनाउन निरन्तर समीक्षाको आवश्यकता पर्ने बताए। दुई पार्टी मिल्दैमा आत्तिनुनपर्ने उनको भनाइ छ। उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेमा मात्रै धुलो नदेख्न आग्रह गरे। उनले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेको जानकारी दिए।

प्रकाशित: २८ असार २०८१ १४:४८ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast