लुम्बिनीमा डुबे मन्त्रालय, राप्तीमा बगेर एक बेपत्ता

हिमाल प्रेस २२ असार २०८१ १३:१३
10
SHARES
लुम्बिनीमा डुबे मन्त्रालय, राप्तीमा बगेर एक बेपत्ता जलमग्ग बनेकाे लुम्बिनीको राजधानी।

सुर्खेत- अविरल वर्षाले लुम्बिनी प्रदेशका तराईमा बाढी र डुबान र पहाडी क्षेत्रमा पहिरो गएको छ। दाङको राप्ती उपत्यकास्थित प्रदेश राजधानी क्षेत्र देउखुरी जलमग्न भएको छ। वर्षाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अन्य मन्त्रालय भवन डुवानमा परेका छन्। ढल निकास अवरुद्ध हुँदा मन्त्रालय जलमग्न भएका छन्।

मन्त्रालय परिसरमा अहिले सडक, ढल निकास र भवन निर्माणको काम भइरहेको छ। निर्माणका क्रममा रहेकाले यहाँ ढल निकास अवरुद्ध छ। जसले गर्दा मन्त्रालयहरू डुबानमा परेका हुन्। सबैजसो मन्त्रालयमा क्षेत्रको कम्पाण्डमा पानी भरिएको छ। यस्तै, कतिपय मन्त्रालयभित्र पनि पानी परेको छ। गएरातिदेखि परेको भिषण वर्षापछि आएको बाढी बस्तीमा समेत पस्न थालेको छ।

लगातारको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन्। राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पनि पसेको छ। बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन्।

यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ। कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ। यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएको छ। नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।

राप्तीमा बगेर एक बेपत्ता

राप्ती नदीले बगाउँदा एक जना बेपत्ता छन्। लमही नगरपालिका–७, हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका हुन्।

राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएको र फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। तीन जनासँगै रहे पनि एक जनालाई बाढीले बगाएको र दुई जना सिमलको रूखमा चढेर सुरक्षित बसेका थिए। नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएर सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए।

१८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ। यस्तै गुल्मीको रूरूक्षेत्र गाउॅपालिका–३ थोर्गाको ठॅाटीमा पहिरोले स्थानीय उजेली बिकको घर पुरेको छ। घरभित्रै पुरिएकी उजेली बिकको स्थानीयले जीवितै उद्दार गरेका छन्।

सडकमा पहिरो, सडकअवरुद्व

लगातारको वर्षाले लुम्बिनी प्रदेशका विभिन्न ठाउमा पहिरो जादा सडक अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी छ।

प्रकाशित: २२ असार २०८१ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast