एकीकृत समाजवादीमा गुटगत प्रतिस्पर्धाको तयारी

हिमाल प्रेस २० जेठ २०८१ ८:२० | Sunday, June 2, 2024
एकीकृत समाजवादीमा गुटगत प्रतिस्पर्धाको तयारी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन आउँदो असार १६ देखि काठमाडौँमा हुँदैछ। समाजवादी गठनपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। समाजवादीका नेताहरू महाधिवेशनको गृहकार्यमा जुटेका छन्।

समाजवादीको महाधिवेशन गत माघमा गर्ने तयारी थियो। तयारी नपुगेको भन्दै जेठमा सारिएको थियो। जेठमा गर्ने भनिएको महाधिवेशन पनि राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनको कारण देखाउँदै असारमा पुर्‍याइएको छ।

महाधिवेशनमा नीति र सिद्धान्तका विषयमा भन्दा पनि नेतृत्व कसले लिने भन्नेमा रस्साकस्सी छ। त्यसमा पनि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आआफ्नै गुट बलियो बनाउन सक्रिय छन्।

महाधिवेशनमा पेस हुने प्रतिवेदन भने एकमुस्ट बनाइनेछ। प्रतिवेदनमा अध्यक्ष नेपाल र सम्मानित नेता खनाल दुवैको राय आउने गरी तयार पार्न लागिएको खनाल निकटका एक नेताले बताए। प्रतिवेदन साझा बनाउनकै लागि उपाध्यक्ष बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल लागेका छन्। उनीहरू दुवै नेताकहाँ पुगेर प्रतिवेदन देखाउने र रुजु गर्ने-गराउने काममा व्यस्त छन्। एक नेताले भने, ‘प्रतिवेदनमा चाहिँ गुटको प्रभाव नदेखियोस् भनेर हामी दुवै नेताका धारणा एकै ठाउँमा ल्याउने प्रयत्नमा छौँ।’

प्रतिवेदन साझा बनाउन एकदमै कष्टकर रहेको घनश्याम भुसाल निकट एक नेताले बताए। ‘प्रतिवेदन साझा बनाउन लागियो तर ज्यादै गाह्रो भयो। एकैदिन तीन पटकसम्म नेपाल कहाँ र तीन पटक खनालकहाँ पुग्नुपर्छ’, एक नेताले भने।

सम्मानित नेता खनालले महाधिवेशनमा नेपालले पेस गर्ने प्रतिवेदनको पूरक दस्ताबेज पेस गर्ने तयारी गरेका थिए। खनालको दस्ताबेज रोक्नकै लागि साझा प्रतिवेदन पेस गर्न लागिएको हो।

अध्यक्षमा नेपाल-खनाल टक्कर

आउँदो महाधिवेशनमा अध्यक्ष उम्मेदवार बन्ने माधवकुमार नेपाल प्रमुख नेता हुन्। यसपटक दोधारका बीच नेपाल अध्यक्षमा लड्न खोजिरहेका छन्। नेपाल कहिलेकाहीँ राजनीतिबाटै विमुख बन्ने बताउँछन्। दोस्रो स्तरका नेताहरूले लड्नुपर्ने दबाब दिँदा उनी अध्यक्षमा दोहोरिन चाहेका छन्। ‘सर्वसम्मत नेतृत्व चुनिनुपर्छ। माधव नेपाल निर्विकल्प हो,’ उनी निकट एक नेता भन्छन्।

ती नेता नेपाल आउँदो महाधिवेशनबाट सर्वसम्मत बन्ने दाबी गर्छन्। यसअघि मनोनीत अध्यक्ष भएकाले अब निर्वाचित अध्यक्ष नेपाल बन्नुपर्ने ती नेताको भनाइ छ। अध्यक्षमा अन्य नेतालाई रोक्न पनि नेपाल अगाडि सारिएका छन्। केही नेताले दोस्रो स्तरमा नेता नउदाएको भन्दै नेपाललाई फेरि अवसर दिन चाहेका छन्। अध्यक्ष सर्वसम्मत बन्ने दाउमा रहे पनि नेपालको अपेक्षा पूरा हुने देखिँदैन। किनभने सम्मानित नेता खनाल अध्यक्षमा लड्ने तयारीमा छन्। उनी निकट स्रोतका अनुसार उनी जिल्लादेखि केन्द्रमै प्रचारमा छन्। उनले मध्यबानेश्वरमा सचिवालय पनि खोलेका छन्।

‘हामीले निर्वाचन प्रयोजनकै लागि सचिवालय खोलेका हौँ। तर अध्यक्षज्यू (माधव नेपाल)को सचिवालयले धेरै चासो दिएकाले गुपचुप राखेका हौँ,’ खनाल निकट एक नेताले भने। अहिले सोही सचिवालयलाई एकीकृत समाजवादी इलाम-काठमाडौँ मञ्चको कार्यालय भनिएको छ।

‘यहाँ युवा संघको अफिस पनि चाहिएको थियो। फेरि एक महिनाअघि मात्रै सम्पर्क मञ्च पनि गठन गरियो। तर खास काम सचिवालयकै हो’, ती नेताको दाबी छ। खनालले बैठकमै पनि अध्यक्षमा लड्ने बताइसकेका छन्।

महासचिवमा घनश्याम र जगन्नाथ मुख्य प्रतिस्पर्धी

अध्यक्षपछिको महत्त्वपूर्ण पद महासचिवमा घनश्याम भुसाल र जगन्नाथ खतिवडा आकांक्षी देखिएका छन्। नेतृत्वले सर्वसम्मत गर्न दबाब दिएबाहेक उनीहरू पछि हट्ने तयारीमा छैनन्। भुसाल हालका महासचिव हुन्।

उनी एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बन्दा समाजवादीमा थिएनन्। उनी एमालेमै थिए। २०७९ को आमनिर्वाचनमा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७९ पुस २९ मा एकीकृत समाजवादीमा ‘स्वघोषणा कार्यक्रम’ भन्दै घनश्याम समाजवादी प्रवेश गरे। २०७९ चैतमा उनी समाजवादीको महासचिव बने।

उनी फेरि महासचिवमा दोहोरिन चाहेका छन्। पूरा कार्यकाल काम गर्न नपाएकाले आफू फेरि उम्मेदवार बन्ने घनश्यामले निकट नेताहरूसँग बताउने गरेका छन्। घनश्यामसँगै महासचिवको प्रतिस्पर्धामा जगन्नाथ खतिवडाले तयारी गरेका छन्। खतिवडा निकट नेताहरूका अनुसार सचिवालयमा भनेर नै उनले महासचिवको तयारी गरेका हुन्। यद्यपि गुटगत तयारी नभएको सबै नेताले दाबी गर्ने गरेका छन्।

अध्यक्षमै दुई नेता भिड्ने भएपछि समाजवादीका पदाधिकारीमा कित्ता काटाकाट हुने निश्चित छ। महासचिवमा जगन्नाथ नेपालसँगै रहेर महासचिवमा लड्ने चर्चा छ। यता घनश्याम भने खनालसँग रहने पनि चर्चा छ।

खतिवडा पार्टीे उपमहासचिव र प्रचार विभाग प्रमुख छन्। प्रचारमा रहेकाले सबैजसो जिल्लागत नेतासँग आफ्नो चिनजान रहेको खतिवडाले बताउने गरेका छन्।

उनीहरू निकट नेताहरूका अनुसार अहिले अध्यक्ष नेपाल जनताको बहुदलीय जनवाद (जबज)को पक्षधर हुन्। उनी जबज नै पार्टीको मार्गनिर्देशक सिद्धान्त रहने बताउने गरेका छन्। गत विधान सम्मेलनमा पनि नेपालले जबजको विकल्प सोच्न नसकिने बताएका थिए। यता खनाल भने जबजको विपक्षमा छन्। उनी जबज मान्नै नसकिने बताउँछन्। ‘जबज मान्ने हो भने ठूलो जबज (एमाले)तिरै नेताहरू लाग्छन्। किन यता आउँछन्?’

विधान सम्मेलनको समापनशत्रमा खनालले भनेका थिए। यता घनश्याम भुसाल पनि जबज ‘एक्सपायर’ भएको बताउने गरेका छन्। उनी समाजवादी नीतिअनुरूप अघि बढ्नुपर्ने बताउँदै आएका छन्। यही कारण झलनाथ-भुसाल एकातिर रहने नेताहरूको अनुमान छ।

महासचिवमा भने घनश्याम र जगन्नाथका अतिरिक्त गंगाधर तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला पनि छन्। उनीहरूले अहिले आकांक्षा मात्र देखाएको पार्टी स्रोतको दाबी छ। उनीहरूमध्ये केहीलाई उपमहासचिवमा समेट्ने पार्टी नेतृत्वको दाउ छ।

एकीकृत समाजवादीमा गुट छैन, स्वस्थ प्रतिस्पर्धा हुन्छ : नेता दामोदर अर्याल [अन्तर्वार्ता]

पार्टी अध्यक्षमा लड्न खनालले खोले सम्पर्क कार्यालय, भुसालसँग सहकार्य गर्ने तयारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast