गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : देउवा

हिमाल प्रेस १५ जेठ २०८१ ८:०३ | Tuesday, May 28, 2024
गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : देउवा शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गरेका छन्।

उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिएका छन्।

उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गरेका छन्।

आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै सभापति देउवाले उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ सफल भएको थियो। आन्दोलनपश्चात् कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो।

गणतन्त्र कार्यान्वयनका लागि विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो।

यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १५ जेठ २०८१ ८:०३ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast