किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

हिमाल प्रेस ६ जेठ २०८१ ९:०२ | Sunday, May 19, 2024
किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ- सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गिस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को संख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहेको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घरबाहिर ननिस्कन आग्रह छ’, भनेको छ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामाबादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।

साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं+92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ। छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ।

प्रकाशित: ६ जेठ २०८१ ९:०२ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast