डा. शेखर कोइराला।
फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइरालाले कुनै पनि राजनीतिक दलले कांग्रेसलाई धम्क्याउन नसक्ने बताए।
राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै कोइरालाले अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट आफूहरू नडराउने बताए।
बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली कांग्रेसलक्षित चेतावनी दिएका थिए। सोही विषयलाई लिएर कोइरालाले आफ्नो पार्टी कसैको धम्कीले नडराउने बताएका हुन्।
‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ कोइरालाले भने।
देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको कोइरालाले बताए। ‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ। भोलि के हुन्छ हामी भन्न सक्ने अवस्थामा छैनौँ। त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ,’ उनले भने।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको उनको दाबी छ।


