‘पर्यटन, आइटी, जलविद्युत, सिमेन्ट र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ’

हिमाल प्रेस २१ वैशाख २०८१ १७:५३
24
SHARES
‘पर्यटन, आइटी, जलविद्युत, सिमेन्ट र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ’ वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ-  अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानीजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नेगरी बजेट निर्माण गरिने बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

उनले पर्यटन, आइटी, जलविद्युत, खानीजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि प्रतिस्पर्धी क्षेत्र भएकाले सरकारको प्राथमिकता रहेको बताए। मन्त्री पुनले आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउनमा जोड दिने प्रतिबद्धता जनाए।

उनले सरकारले शिक्षा र स्वास्थलाई पनि प्राथमिकता दिने बताए। उनले शिक्षा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशतसम्म खर्च गर्नेगरी नीतिगत सुधार गर्न सुझाव आएको भन्दै त्यसमा सरकारको ध्यान गएको बताए। मन्त्री पुनले रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताए।

उनले कृषिमा भएको बजार र खपत भएका वस्तुहरूलाई प्रतिस्थापन गर्ने योजना सरकारको रहेको सुनाए। उनले निर्वाहमुखी कृषि भएकाले ३ खर्ब बढी वार्षिक रूपमा कृषि वस्तुहरू आयात गरिरहेको भन्दै कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए।

उनले त्यसको लागि कृषि क्षेत्रमा नीतिगत रूपले उत्पादनमा सहुलियत दिएर बजार र उद्योगसँग जोडी आधुनिकरण गर्ने योजना रहेको बताए।

प्रकाशित: २१ वैशाख २०८१ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =