शुक्लाफाँटामा बाघ बढे

हिमाल प्रेस ११ वैशाख २०८१ ७:३८ | Tuesday, April 23, 2024
शुक्लाफाँटामा बाघ बढे प्रतिकात्मक तस्बिर।

कन्चनपुर- महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा पाटेबाघको संख्या बढेको छ। दस वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।

निकुन्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुन्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको संख्या ४४ पुगेको हो।

गत मंसिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको संख्या बढेर ४४ पुगेको निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

‘यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्’, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको संख्या बढ्दै गएको छ।’

शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको संख्या पनि बढेको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुन्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउँछन्।

‘शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्’, उनले भने।

कन्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुन्ज पाटेबाघ, बाह्रसिंगे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन्।

प्रकाशित: ११ वैशाख २०८१ ७:३८ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast