‘मनसरा’ का हरेक पात्रमा दर्शकले आफूलाई पाउँछन् : उपेन्द्र सुब्बा

हिमाल प्रेस ८ वैशाख २०८१ १९:४० | Saturday, April 20, 2024
‘मनसरा’ का हरेक पात्रमा दर्शकले आफूलाई पाउँछन् : उपेन्द्र सुब्बा

पोखरा- गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म प्रमोसनका लागि फिल्म युनिट पोखरा आएको छ।

युनिटले शनिबार पत्रकारसँग साक्षात्कार गर्‍यो भने पोखरा थियटरमा उपेन्द्र सुब्बा कवितामा सुनिए। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले समाजमा भएका घटनालाई आधार बनाएर फिल्म निर्माण गरेको बताए।

उनले भने,‘यो सिनेमाका हरेक पात्रमा दर्शकले आफूलाई पाउने छन्। फरकधारको फिल्म बनाउने कोसिस छ।’ सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि सिनेमामार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले प्रस्ट पारे।

पूर्वतर्फ पाइने धानको नाम ‘मनसरा’ हो। निर्देशक सुब्बाका अनुसार उक्त धानको ढाँट अलिक कडा हुन्छ, वरिपरि अन्य बाली लगाए पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तु समाजसँग जोड्ने प्रयास गरेको बताए। पत्रकारको जिज्ञासामा उनले उपन्यासभन्दा सजिलो लेखन सिनेमा भएको बताए।

चर्चित अभिनेत्री मिरुना मगरले ‘मनसरा’ समाजको सत्यकथामा आधारित रहेको बताइन्। ‘जारी’, ‘कबड्डी’ सिरिजमा दर्शकबाट पाएको मायास्वरुप ‘मनसरा’ पनि रुचाउनेमा आशावादी बनिन्।

कुनै पनि कलाकारले निर्देशकले दिएको भूमिका अनुसार नै आफूलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा ‘मनसरा’ मा पनि निर्देशकले दिएको भूमिकालाई निर्वाह गर्ने प्रयास गरेको बताइन्। अभिनेता प्रवीण खतिवडाले ‘मनसरा’ सोसल ड्रामा भएको बताए। मिश्रित समाजको कथा भएकाले फिल्म दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन्।

अभिनेत्री मेनुका प्रधानले दर्शकले मन पराउने बताइन्। कार्यकारी निर्माता सिजन दाहालले ललितपुरस्थित सिमाखो र पाँचथरको गाउँमा फिल्म खिचिएको बताए। यसअघि सार्वजनिक फिल्मको ट्रेलर दर्शकले रुचाएका छन्।

जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ। कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानसहित अलावा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलाई पनि देख्न सकिन्छ।

निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुन्। विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सहनिर्माता छन्। किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक हुन्। फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनसहित श्रवलराज पाण्डेको साउन्ड डिजाइन हो भने मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ।

प्रकाशित: ८ वैशाख २०८१ १९:४० | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast