गण्डकी प्रदेशसभा अधिवेशन आजदेखि

हिमाल प्रेस ७ वैशाख २०८१ ११:४४ | Friday, April 19, 2024
गण्डकी प्रदेशसभा अधिवेशन आजदेखि

पोखरा- गण्डकी प्रदेशसभा अधिवेशन आज दिउँसो ३ बजेदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बाेलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेकोमा प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार संविधानको धारा १८३ (१) बमोजिम आजका लागि बैठक आह्वान गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत लिने तयारी गरेकोमा उनी पछि हटेका छन्। गण्डकीमा राप्रपा निर्णायक रहेकाले सरकारमा जाने वा नजाने निर्णय नभएकाले अधिकारीलाई विश्वासको मत पाउने अवस्था भने छैन। उनले विश्वासको मत लिनको लागि कि त राप्रपाको साथ लिनुपर्छ भने कि सभामुखले राजीनामा दिनुपर्छ।

विश्वासको मत लिने भनिए पनि सरकारका प्रवक्ता हरिबहादुर चुमानले नियमित बैठकमा झै दलका नेताहरूले सम्बोधन गर्ने र सचिवालयमा दर्ता भएका केही विधेयक पेस गर्ने तयारी रहेको बताए। उनका अनुसार त्यसअघि कार्यव्यवस्था समितिको बैठक बस्नेछ।

सभामुखसमेतको संख्या गनेर एमालेले सरकार गठन गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दिएकोमा सर्वोच्चले १० वैशाखको पेसी तोकेको छ। मुद्दाको किनारा नलाग्दासम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको आदेशलाई अधिकारी सरकारले लत्याएर अधिवेशन आह्वानसँगै विश्वासको मत लिन लागेपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले पूरक निवेदनसमेत सर्वोच्चमा दायर गरेका छन्।

यसैबीच अदालतको मानहानी हुने गरी अधिवेशन आह्वान गरिएकोमा कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ। अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्ममान कानुनको वेवास्ता गर्दै गरिएका असंवैधानिक क्रियाकलापप्रति गम्भीर असहमति जनाउँदै उसले यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने हुँदा यसको जिम्मेवार संम्बन्धित पक्षहरू हुने भन्दै चेतावनी दिएको छ।

सभामुखसमेतको संख्या गनेर बहुमत (३१ सिट) पुगेको भन्दै एमाले संसदीय दलका नेता अधिकारीले गत २५ चैतमा नेपालको संविधान धारा १६८(२) बमोजिम मुख्यमन्त्रीको दाबी गरेका थिए। प्रदेश प्रमुखले सोही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। उनको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसले अदालत गुहारेको हो।

अधिकारी सरकारलाई आफ्नो पार्टी नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे) १ सहितको सांसदको समर्थन छ। ६० सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सदस्य छन्।

प्रकाशित: ७ वैशाख २०८१ ११:४४ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast