किसानले छाडे मेन्थाखेती, बन्द भयो फत्तेपुरको सुगन्धित तेल प्रशोधन केन्द्र

हिमाल प्रेस ६ वैशाख २०८१ १३:२९ | Thursday, April 18, 2024
किसानले छाडे मेन्थाखेती, बन्द भयो फत्तेपुरको सुगन्धित तेल प्रशोधन केन्द्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ। कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो। प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ।

मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी-६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिए।

‘परियोजना सञ्चालन हुँदा नियमित रूपमा सामूहिक र व्यक्तिगत रूपमा मेन्थाखेती हुँदै आएको थियो’, उनले भने, ‘उत्पादित तेलको मूल्य सुनिश्चितता र बजार पाउन नसकेपछि खेती गर्न छाडियो।’

जोरैयामा मात्रै ताराबहादुर थापाको अध्यक्षतामा १८ जना मेन्थाखेती गर्ने किसानले समूह बनाएर सुगन्धित तेल उत्पादन गर्दै आएका थिए। परियोजना सकिएपछि समूहले तेल उत्पादन र बिक्री वितरण गर्न नसकेपछि किसानले घाटा व्यहोर्नुपरेको उनको भनाइ छ।

मेहनत गरेर उत्पादन गरेको मेन्थाबाट तेल प्रशोधन गरी नेपालगञ्ज पुर्‍याउँदा मूल्य सुनिश्चित नहुने र बजारसमेत नपाउने भएपछि किसानले चार-पाँच वर्षमै मेन्थाखेती गर्न छाडेको स्थानीय अगुवा लालबहादुर थापाले बताए।

परियोजना सञ्चालन हुँदा फत्तेपुरमा मात्रै ८० बिघा जमिनमा मेन्थाखेती विस्तार भएको थियो। फत्तेपुरलाई मेन्थाखेतीको पकेट क्षेत्र बनाउने भन्दै किसानले खेती बढाउन जडीबुटी उत्पादन समूहसमेत गठन गरेका थिए।

गहुँ-मसुरो भित्र्याएपछि खाली जमिनमा मेन्थाखेती गरिन्छ। मेन्थाका लागि पानी आवश्यक परे पनि स्याहारसुसार त्यति धेरै गर्नु नपर्ने फत्तेपुर सर्राका किसान रामगोपाल मौर्यले बताए।

पशु चौपायाले मेन्था नखाने भएकाले पनि गर्मीमा खेती उपयुक्त भए पनि मेन्थाबाट प्रशोधित तेलले बजार र मूल्य नपाएपछि आफूहरूले खेती गर्न छाडेको उनको भनाइ छ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका संघसंस्थाको साझेदारीमा कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत सुगन्धित तेल प्रशोधन केन्द्र स्थापना भएको थियो। रासस

प्रकाशित: ६ वैशाख २०८१ १३:२९ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast