मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

हिमाल प्रेस १६ चैत २०८० २०:५४ | Friday, March 29, 2024
मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिएका छन्। विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज (शुक्रबार) मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताएका हुन्।

निवर्तमान अर्थमन्त्री डा. महतले संसद्मा प्रस्तुत गरे आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो। सिद्धान्त र प्राथमिकताबारे संघीय संसद्का दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको मन्त्री पुनले बताए।

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए। मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्‍याइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

फरक प्रसंगमा मन्त्री पुनले मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए।

आगामी सन् २०२६ भित्र नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने विश्वास अर्थमन्त्री पुनले व्यक्त गरे। त्यसका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्नुका साथै कानुनी सुधार र लगानीका नयाँ ढोका खोल्न क्रियाशील रहेको उनको भनाइ थियो। नेपालको आन्तरिक स्रोतले मात्र विकासमा फड्को मार्न नसकिने भएकाले सहुलियतपूर्ण कर्जामा जोड दिएको स्पष्ट पारे।

अर्थमन्त्री पुनले गेमचेन्जर आयोजनाका रूपमा रहेको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने तयारी अघि बढेको बताए।

जबाफमा विश्व बैंकका देशीय निर्देशक जर्भोसले नेपालको विकास प्रयासमा विश्व बैंकले विगतदेखि नै सहायता गर्दै आएको उल्लेख गर्दै सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए। माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापन टुङ्ग्याउने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: १६ चैत २०८० २०:५४ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast