संसदीय समिति बैठकमा उठ्यो प्रसाईका बडिगार्डले बोक्ने हतियारको विषय

हिमाल प्रेस १४ चैत २०८० १४:२० | Wednesday, March 27, 2024
संसदीय समिति बैठकमा उठ्यो प्रसाईका बडिगार्डले बोक्ने हतियारको विषय

काठमाडौँ- हतियारसहित बडिगार्ड लिएर हिँड्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईले हातहतियारसम्बन्धी संसदीय समितिमा छलफल भएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बुधबार सांसदहरूले प्रसाईलाई ठूलो मात्रामा हतियार दिनुको कारण सोधेका छन्। गृहमन्त्री, सचिव र सुरक्षा प्रमुखलाई प्रसाईलाई सुरक्षाकै लागि हतियार दिएको हो वा होइन भन्ने बारे सोधेका छन्।

उनीहरूले प्रसाईका गार्डले बोक्ने सबै हतियार अनुमति अनुसार नै भएकोमा शंका व्यक्त गरेका छन्।

सांसद कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईंलाई स्वचालित हतियार राख्ने अनुमति कसले दिएको भन्दै प्रश्न गरेका छन्।

श्रेष्ठले भने, ‘त्यस्तो स्वचालित हतियार राख्ने अनुमति उनलाई कसले दियो ? एउटा दुर्गा प्रसाईंले मात्रै हो कि अरू दुर्गा प्रसाईंहरूले लाइसेन्स प्राप्त त्यस्ता हतियार राखेका छन्। हालसालै रुसको कन्सर्टमा हत्याकाण्ड भएको जस्तो घटना भयो कसले जिम्मा लिन्छ? तपाईंको कार्यकालमा ठूला घटना घट्यो भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ।’

केहीदिनअघि मात्रै हतियारसहित प्रसाईका बडिगार्ड पक्राउ परेका थिए। दुई बडिगार्ड पक्राउ परेकामा प्रसाईले गम्भीर आपत्ति जनाउँदै अनुमति लिएर नै हतियार बोकेको दाबी गरेका थिए।

गृहमन्त्रालयले भने हतियार सुरक्षागार्डलाई घरको कम्पाउण्डबाहिर आधुनिक हतियार बोकेर हिँड्ने अनुमति नरहेको बताएको छ। गृहसचिव एकनारायण अर्यालले संसदीय समितिमै जबाफ दिँदै गृहले अनुसन्धान गर्न छुट्टै टोली बनाउन लागेको जानकारी गराएका थिए।

प्रकाशित: १४ चैत २०८० १४:२० | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast